‘लकडाउन’मा खटिएका प्रहरीलाई निर्माण व्यावसायीको सहयोग

खोटाङ चैत्र १८

निर्माण व्यवसायी संघ खोटाङले ‘लकडाउन’का क्रममा ड्युटीमा खटिएका प्रहरीलाई पानी, जुस लगायतका खाद्यन सामग्री प्रदान गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’लाई सफल बनाउनका लागि दिनरात ड्युटीमा खटिएका प्रहरीलाई निर्माण व्यवसायी संघले लजिस्टीका सामग्री प्रदान गरेको हो ।

मंगलवार जिल्ला प्रहरी कार्यालयको प्रांगणमा निर्माण व्यवसायी संघका प्रमुख संरक्षक कुमार आचार्यलगायतको व्यवसायीको टोलीले जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक वामदेव गौतमलाई पानी, जुस र चाउचाउ हस्तान्तरण गरेको सहकर्मी दिलीप खत्रीले जानकारी दिए ।

‘लकडाउन’काक्रममा खटाइएका प्रहरीले उपयोग गर्न पाउने गरी निर्माण व्यवसायी संघले ५० काटन मिनरल वाटर, ४० काटन फ्रुटी, ५० काटन चाउचाउ र ७५ पिस माक्स प्रदान गरेको हो ।

संकटकाबीचमा खटिएका प्रहरीको हौसलाका लागि ६० हजार बराबरको लजिस्टिक सहयोग गरिएको निर्माण व्यवसायी संघका अध्यक्ष रमेश पौडेल (दिनेश) ले बताए ।

‘कोरोना भाइरसबाट नागरिकको ज्यान जोगाउनका लागि प्रहरी जवान अहोरात्र खटिरहेका छन्, यो बेला जुनसुकै ठाउँमा जहाँ पायो त्यहीको पानी खाने अवस्था छैन, जस्तो पायो त्यस्तै खानेकुरा खाने अवस्था छैन,’ प्रमुख संरक्षक आचार्यले भने, ‘लकडाउनले बजार बन्द छ, तिर्खा लाग्दा एक घुड्की पानी पिउने वातावरण छैन ।

पानीकै लागि ढोका ढकढकाउने अवस्था छैन । त्यही भएर कम्तीमा ड्युटीमा खटिएको बेला सहजताका साथ पानी पिउन पाउन् भनेर सहयोग गरिएको हो ।’

लजिस्टीका सामान जिल्ला प्रहरी कार्यालयमै राख्ने र आवश्यकता अनुसार ड्यूटीमा खटिएका जवानलाई प्रदान गर्ने गरी प्रदान गरिएको निर्माण व्यवसायी संघले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक गौतमले व्यवसायी संघको सहयोगले महामारीका विरुद्ध लडिरहेका प्रहरीलाई प्रेरणा मिलेको बताउदै यो सामग्री ड्युटीमा खटिएका प्रहरी र लकडाउनका कारण समस्यामा परेर उद्दार गर्नुपर्ने नागरिकहरुलाई प्रदान गरिने बताए ।
यस्तै, यसअघि सक्रिय बचत तथा ऋण सहकारी संस्था दिक्तेलले पनि पानी, जुस, बिस्कुट लगायतका सामग्री प्रदान गरेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु