ओखलढुङगाका यी वडाध्यक्षले आफ्नै खर्चमा साबुन वितरण गरे

ओखलढुंगा चैत्र १८


ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ खिजीकातीका वडा अध्यक्षले कमलप्रसाद न्यौपानले व्यक्तिगत खर्चमा सबै वडाबासीलाई हातधुने साबुन वितरण गर्नुभएको छ । विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्न नदिन गाउँमा सचेतना र सरसफाईको सन्देश दिन वडा अध्यक्ष न्यौपानेले सबै वडाबासीलाई साबुन उपलब्ध गराउनु भएको हो । वडा अध्यक्ष न्यौपानेले २५ हजार रुपैंया बराबरको साबुन खरिद गरेर गाउँका गाउँका ४५० घर परिवारलाई बाँड्नु भएको हो ।

सरसफाईमा ध्यान दिन र स्वस्थ जीवन जिउन आफ्नो क्षेत्रका नागरिकलाई पहिलो चरणमा साबुन सहित सन्देश दिएको वडा अध्यक्ष न्यौपानले बताउनुभयो ।

‘हात धोए रोग लाग्दैन अकालमा मर्नु पर्दैन भन्ने विश्वव्यापी सन्देश छ तर गाउँमा त्यसको चेतना कम छ । त्यसलाई सुधार गर्न आवश्यक ठानेँ र व्यक्तिगत खर्चमा सबैका हातहातमा पुग्नेगरि साबुन उपलब्ध गराएँ केही घरमा पुग्न बाँकी छ भोलि सम्ममा पुग्छ ।’ उहाँले भन्नुभयो,‘साबुन सहित घरघरमा हातधुने तरिका सिकाउन स्वयंसेवक खटाइएको छ । पहिलो पटक जनप्रतिनिधि हुनुको नाताले मैले मेरो क्षेत्रका नागरिकलाई सहयोग गरेँ, अर्को पटक देखि आफैं सरसफाईका सामाग्री किनेर जीवन रक्षाका लागि स्वयं वडाबासी लाग्नुहुनेछ ।’ खिजीकातीका घरघरमा स्वास्थ्यकर्मी, वडाका जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयं सेविका मार्फत हातधुने तरिकका सिकाउँदै वडा अध्यक्षले उपलब्ध गराएको साबुन वितरण गरिएको छ ।

वडा अध्यक्षको अभियानमा साथ दिँदै स्थानीय युवा देबकृष्ण खड्काले वडाबासीलाई कपडा धुने साबुन उपलब्ध गराउनु भएको छ । पुनःनिर्माण प्राधिकरण अन्तरगत खिजीकातीमा कार्यरत खड्काले १० हजार रकम बराबरको कपडाधुने साबुन किनेर वडा अध्यक्ष मार्फत गाउँमा वितरण गर्नुभएको हो ।

साबुन वितरण गर्दे वडाध्यक्ष

खिजीकातीमा कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाईएको छ । वडामा हेल्थ डेक्स सञ्चालन गरेर नियमित स्वास्थ्य परिक्षणको काम भईरहेको छ । विदेशबाट आएका र कोरोनाको शंका लागेकाहरुलाई राख्न क्वारेन्टाइन समेत निर्माण गरिएको छ ।

जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका, स्थानीय युवा तथा अगुवाहरु कोरोना विरुद्धको अभियानमा जुटेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु