‘आक्रमण ओलीमाथि सीमित छैन, पार्टीमाथि भैराखेको छ’

सोलुखुम्बु, वैशाख १५

 पूर्वमन्त्री रामचन्द्र झा मधेसका पुराना कम्युनिस्ट नेता हुन् । पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता आदर्श नेताहरुको प्रेरणाले पञ्चायतकालदेखि नै कम्युनिस्ट बनेका झा धनुषामा लामो समय तत्कालीन नेकपा एमालेको जिल्ला प्रमुख रहे ।

करिब १५ वर्षसम्म जनकपुर अञ्चलको इञ्चार्ज रहे । र, उनले मधेसमा एमालेको बिउ जोगाए ।

तर, एमालेभित्रै आफूमाथि केपी ओलीले ठूलो अन्याय गरेको झाको बुझाइ छ । बुटवल महाधिवशेनपछि झलनाथ खनाललाई दबाब दिएर आफूलाई पार्टीको स्थायी कमिटी सदस्य बन्न नदिएको, नेपालमा जन्मेको धर्तीपुत्रलाई नागरिकता विवाद झिकेर ८ वर्षसम्म अदालतमा मुद्दा हाल्न लगाएर तड्पाएको र धनुषामा अन्तरघात गरेर आफूलाई चुनाव हराएको झाको आरोप छ ।

र, यी सबै जालझेलमा केपी ओलीले रघुवीर महासेठसँग मिलेर संलग्नता जनाएको झाले गुनासो गर्दै आएका छन् ।

पूर्वएमाले नेता झा ओली समूहको पेलान सहन नसकेरै आफू माओवादीमा प्रवेश गरेको सुनाउँछन् । माओवादी छाडेर उनी केही समय डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा पनि सामेल भए । तर, गत चुनावअघि माओवादीमै फर्किए । र, दुवै पार्टीवीच एकता भएपछि उनी अहिले सत्तारुढ नेकपामा छन् ।

एमालेमा हुँदा धनुषाबाट बारम्बार चुनाव जित्दै आएका र स्थानीय विकास मन्त्रीसमेत बनेका झा गत आम निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ बाट वाम गठबन्धनका साझा उम्मेदवार उठेका थिए । तर, उनले एमालेको कोटाबाट नभई माओवादीको कोटाबाट टिकट पाएका थिए ।

सोही निर्वाचन क्षेत्रमा संघीय समाजवादीका तर्फबाट उमाशंकर अरगरिया चुनाव लडेका थिए । नेकपाका झालाई चुनाव हराउने उमाशंकर उनै व्यक्ति हुन्, जसले अहिले आफ्नै समाजवादी फुटाउने भन्दै सर्वेद्र खनाल, महेश बस्नेत र किसान श्रेष्ठसँग मिलेर जनकपुरबाट सांसद डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याउने भूमिका खेले ।

उमाशंकरमाथि अहिलेमात्रै केपी ओलीको लगानी रहेको नभई गत चुनावदेखि नै ओली गुटले उमाशंकरलाई उपयोग गर्दै आएको झाको दाबी छ । ओली समूहकै मिलेमतोमा अन्तरघात गरेर आफूलाई चुनाव हराइएको र उमाशंकरलाई जिताइएको झाको आरोप छ । र, त्यसरी अन्तरघातमा संलग्न ओली समूहको नेतालाई कारबाही गर्नुको साटो राष्ट्रपतिबाट पदक दिलाइएको उनी बताउँछन् । स्रोतः अनलाइखबर

-->

सम्बन्धित शीर्षकहरु