दिप्रुङ चुईचुम्मा गाउँपालिका : बिउबिजन बैंक स्थापनाको तयारी

खोटाङ, कार्तिक ३

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बिउबिजन बैंक सञ्चालन गर्ने तयारी थालेको छ । किसानले चाहेको समयमा अन्न, तरकारी तथा फलफुल लगायतको आवश्यक बिउबिजन उपलव्ध गराउने लक्ष्यकासाथ गाउँपालिकाले कृषि सहकारी मार्फत बिउबिजन बैंक सञ्चालन गर्ने तयारी थालेको हो ।

किसानलाई आवश्यक पर्ने बिउ खरिदका लागि तराई वा अन्यत्र जिल्ला पुग्नुपर्ने बाध्यता अन्त्याका लागि गाउँपालिकामै बिउबिजन बैंक सञ्चालन गर्ने तयारी थालिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

अन्यत्रबाट ल्याइएका कतिपय बिउ नउम्रने, उम्रे पनि फल नदिने, नसप्रने जस्ता समस्या पनि देखिएकाले आफ्नै ठाउँमा उत्पादन भएका बिउलाई संकलन र भण्डार गर्ने तथा किसानलाई विक्री गर्ने व्यवस्था गर्न लागिएको हो ।

मकै, धान, गहुँ, जौ, आलु, तरकारी, प्याज, फलफुल लगायतको बिउबिजन बैंक स्थापनाका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष नीति तथा कार्यक्रम नै पारित गरेको थियो । गाउँपालिकाभित्र बिउबिजन बैंक सञ्चालन गर्दा बिउ खरिदका क्रममा बाहिरिने रकमलाई गाउँमै रोक्न सकिने गाउँपालिका अध्यक्ष राईले दावी गरे । 

कृषि सहकारीमार्फत चालु आर्थिक वर्षदेखि नै किसानलाई बिउ उपलव्ध गराउने गाउँपालिकाको तयारी छ । बिउ बिजन बैंक सञ्चालनका लागि गाउँपालिकाले आइतबार चार कृषि सहकारीसँग छलफल गरेको छ ।

रातमाटा कृषि सहकारी संस्था, तृतीयाभञ्ज्याङ कृषि सहकारी संस्था, दुर्गा कृषि सहकारी संस्था र चुईचुम्मा कृषि सहकारी संस्थाका पदाधिकारीसँग भएको छलफलमा आगामी कात्तिक २० गतेसम्ममा बिउबिजन बैंक सञ्चालनको ‘मोडालिटी’ बारे टुंगो लगाउने निर्णय भएको छ ।

बैठकमा गाउँपालिका स्तरिय कृषि सहकारी संघ बनाएर सोहीमार्फत बिउबिजन बैंक सञ्चालन गर्ने विषयमा छलफल भएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘स्थानीय सरकारले बेला–बेलामा किसानलाई बिउ बाँडिरहनु पर्छ । त्यो बिउ किन्न सँधै तराई वा फाल्तु ठाउँमा पुग्नुपर्ने बाध्यता छ ।

यही ठाउँमा बिउ भण्डारण गर्न सकिए बिउमा भइरहेको परनिर्भरता हटाउन सकिन्छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘हावापानी नमिल्दा बाहिरबाट ल्याएको बिउ नउम्रने, उम्रे पनि नफल्ने समस्या हुँदो रहेछ । यही ठाउँको बिउ भए हावापानी पनि मिल्छ । अर्कातर्फ बिउ खरिदमा बाहिरिने पैसालाई यही ठाउँमा रोक्न पनि सकिन्छ ।’

बिउ बिजन बैंक सञ्चालन गर्दा स्थानीय रैथाने जातका अन्नको संरक्षणमा टेवा पुग्ने दाबी गरिएको छ । कृषि सहकारीले बिउ बैंकमार्फत किसानलाई हाइब्रिड बिउ समेत उपलव्ध गराउने व्यवस्था मिलाउने तयारी गरिएको छ । 

बिउ बिजन बैंकबाट वितरण हुने बिउ गुणस्तरिय हुनुपर्ने छ । यसका लागि कृषिविज्ञबाट गुणस्तर परिक्षणको व्यवस्था मिलाइने अध्यक्ष राईले बताए । गत वर्ष किसानलाई मकैको बिउ वितरण गर्नेक्रममा खरिद गर्न जाँदा समेत बिउ नपाएपछि गाउँपालिकाले बिउको बैंक सञ्चालन गर्ने नीति तथा कार्यक्रम बारे सोचेको हो । 

-->

सम्बन्धित शीर्षकहरु