पिडितलाई न्याय देउ : दलित संघ सोलुखुम्बु

सोनी राई,
सोलुखुम्बु, असोज २८


सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका भित्र विभिन्न मितिमा चरणवद्ध ढंगले विभिन्न हत्या, हिंसा, जातिय विभेद र छुवाछुतका सामाजिक अपराध बढिरहेको र पीडितले न्याय नपाएकोप्रति नेपाल दलित संघ जिल्ला कार्यसमिति सोलुखुम्बुले ध्यानाकर्षण गराएको छ ।


जिल्ला समन्वय समिति देखि ¥याली सहित जिल्ला प्रशासन कार्यालयमा आईपुगेको जनप्रतिनिधि सहितको टोलीले प्रमुख जिल्ला अधिकारी रमा आचार्यलाई ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराएको हो ।


दलित माथि भएका हत्या, हिंसा, जातिय विभेद तथा छुवाछुत जस्ता जघन्य र घृणित सामाजिक अपराध हुँदा समेत सम्बन्धित निकायले न्याय नदिलाएकाले निष्पक्ष छानविन गरी दोषीलाई कानुनी कारबारी गर्नु पर्ने पत्रमा उल्लेख गरिएको छ ।


ज्ञापन पत्र बुझाउदै नेपाल दलित संघका जिल्ला अध्यक्ष कर्णबहादुर विश्वकर्माले सदरमुकाममै बसोबास गर्ने दलितहरु सुरक्षित नहुनुले ग्रामिण भेगमा बसोबास गर्ने दलितको सुरक्षाप्रति प्रश्न चिन्ह खडा भएको बताए ।


सोलुदुधकुण्ड नगरपालिका वडा नं ५ सल्लेरीको मुगामाया हत्या काण्ड अझै पनि अनुसन्धान मै छ, भने वडा नं ११ तिङला र ९ सिसा खोलामा जातिय विभेद तथा छुवाछुत सम्बन्धीका दुई वटा घटना भएका छन् । तर यि घटनाप्रति प्रशासन र प्रहरी गम्भिर नभएकै कारण चरणवद्ध रुपमा अपराध दोहोरिएको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले बताए ।


घटनामा संलग्न अपराधी पहिचान भए पनि सामान्य कारबाही पछि धेरौटीमा छाड्नुले अपराधिक घटना अझै बढिरहेको मेयर शेर्पाको भनाई छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले बरु कुर्सी छोड्ने तर अपराधिक क्रियाकलापमा लागेका व्यक्तिलाई नछोड्ने बताईन् । साथै आफ्नो कार्यकाल नसकुन्जेल जिल्लामा यस्ता घटना घट्न नदिने पनि प्रतिवद्धता व्यक्त गरिन् ।

-->

सम्बन्धित शीर्षकहरु