सोलुखुम्बु : गार्मा माविले थाल्यो कपडाको सेनेटरी प्याड उत्पादन

सोलुखुम्बु, असोज २८


सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पाले प्रत्येक विद्यालयमा पुनः प्रयोग गर्न मिल्ने कपडाको सेनेटरी प्याड उपलब्ध गराउने बताएका छन् ।


वडा नम्बर ७ गार्मा स्थित गार्मा माविमा सेनेटरी प्याड वितरण कार्यक्रममा मेयर शेर्पाले किशोरी विद्यार्थीको स्वास्थ्य अवस्था र वातावरणलाई मध्यनजर गर्दै हरेक विद्यालयमा कपडाको सेनेटरी प्याड उपलब्ध गराउने बताएका हुन् ।

नगरपालिकाले सेनेटरी प्याडका लागि बजेट समेत व्यवस्थापन गरेको शेर्पाको भनाई छ । कार्यक्रममा नगरपालिकाकी उपमेयर कल्पना राईले बजारमा पाईने सेनेटरी प्याडमा केमिकल मिसावट गरिएका कारण किशोरीलाई असर पर्ने भएकाले कपडाको प्याड धुएर पुनः प्रयोग गर्न मिल्ने भएकाले उपयोगि भएको जानकारी दिईन् ।


गार्मा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नगर कार्यापालिका सदस्य सोनाम ग्याल्जेन शेर्पाले गार्मा माविमा जिल्लामै पहिलो पटक सेनेटरी प्याड उत्पादन गरि वितरण गर्न सफल भएको बताए ।

उनले गार्मा माविले छिमेकी विद्यालयलाई पनि प्याड उत्पादन गरि वितरण गर्ने तथा उत्पादनका सवालमा आवश्यक परे तालिम समेत दिन सकिने बताए ।

गार्मा माविका प्रध्यानाध्यपाक विनोद सिं तामाङले नगरपालिकाले बजारमा सेनेटरी प्याड किनबेचमा निषेध लगाएकाले विद्यार्थिले समस्या झेल्नुपरेको बताउँदै १ लाख ५० हजारको लागतमा मेसिन गरिद गरि दुई विद्यार्थि र एक शिक्षिकालाई तालिम दिएर उत्पादन तथा वितरण सुरु गरिएको बताए ।


कार्यक्रममा गार्मा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी विनु तामाङले सेनेटरी प्याड प्रयोगका बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य गान्धिमाया तामाङ, विद्यालयका किशोरी, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु