खोटाङ, असोज २२
खोटाङको साकेला गाउँपालिका–५ मात्तिम (विर्ता) मा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सूचीमा दुई जना मधुकुमारी राईको नाम उल्लेख छ । आर्थिक वर्ष २०७६/०७७ मा सामाजिक सुरक्षा भत्ता बुझे/बुझाएको तथ्यांक अध्ययन गर्दा दुबै मधुकुमारीको जन्म मिति बाहेक ठेगाना र नागरिकता नम्बर एउटै छ ।एउटा मधुकुमारी राईको जन्म मिति २००५ साल असोज २५ गते उल्लेख छ । अर्को मधुकुमारी राईको जन्म मिति २००५ साल असोज १५ गते उल्लेख छ ।तर दुबै जनाको नागरिकता नम्बर भने १२१०२९/१६९ देखिन्छ । एउटै नागरिकता नम्बर देखाइएको मधुकुमारी नामको दुई लाभग्राहीले आर्थिक वर्ष २०७६/०७७ को तेश्रो अर्थात अन्तिम किस्ता बुझेको तथ्यांकमा देखिन्छ ।
undefined
यस्तै, विक्रम सम्वत २००५ साल असोज २ गते जन्म मिति भएकी गंगामायाँ तामाङको नागरिकता नम्बर १२१०२९÷२३२ छ । त्यही जन्म मिति र नागरिकता नम्बर प्रयोग गरेर गंगामायाँ राईको नाममा भत्ता निकासा गरिएको देखिएको छ । तर, आर्थिक वर्ष २०७६/०७७ तेश्रो चौमासिकमा गंगामायाँ राईको नाम हटाइएको रेकर्डमा देखिन्छ ।
undefined
कतिसम्म भने सो वडामा जन्म मिति २००४ साल फागुन १ गते र नागरिकता नम्बर ८६५/७२७ भएको फुलसरी राई नाम गरेको तीन जनाको नाममा आर्थिक वर्ष २०७६/०७६ को पहिलो चौमासिकसम्म सामाजिक सुरक्षा भत्ता वितरण भएको देखिन्छ । यद्यपि, फुलसरी नामको तीन जनाको नाम आर्थिक वर्ष २०७६/०७७ को दोश्रो चौमासिकमा (गत फागुनमा) हटाइएको देखिन्छ ।
undefined
वडा–वडामा कसरी सामाजिक सुरक्षा भत्तामा अनियमितता भए/भइरहेको छ भन्ने बुझ्न यी उदाहरण काफी छन् । मात्तिम (विर्ता) मा मृत्यु भइसकेका, बसाई सरिसकेका, नक्कली व्यक्ति वा एउटै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता निकासा गरेर चुहावट भइरहेको पाइएको छ ।
सो वडामा मृत्यु भइसकेका व्यक्तिको नाममा वा बसाई सरेर अन्यत्र गएका व्यक्तिको नाममा वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको देखिएको छ । कतिपय एउटै नाम, एउटै नागरिकता नम्बर, एउटै ठेगाना, एउटै जन्म मिति उल्लेख गरेर नक्कली लाभग्राही खडा गरिएको देखिएको छ । एकै व्यक्तिको नाममा विधवा र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बाँडिएको तथ्यांक पनि फेला परेको छ ।
साकेला गाउँपालिका–४ मात्तिम (मानेभञ्ज्याङ) मा मृत्यु भइसकेका, कतिपय बसाई सरिसकेका तथा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको खबर सार्वजनिक भएको केही समयपछि मात्तिम (विर्ता) मा पनि सोही प्रकृतिको अनियमितता हुँदै आएको तथ्य बाहिरिएको हो ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त र पारदर्शी बनाउनका लागि गाउँपालिकाले अभियान चलाए पछि सामाजिक सुरक्षा भत्ता दुरुपयोगको फेहरिस्त छताछुल्ल हुन थालेको हो । राज्यको रकममा भइरहेको दोहन रोक्नका लागि जस्तोसुकै कठोर कदम चाल्ने गाउँपालिका अध्यक्ष अर्जुन खड्का (झंकार) ले बताए ।
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाउँदै आएकी मात्तिम (विर्ता) की मनसिला राईको २०७३ सालमा मृत्यु भएको थियो । नागरिकता नम्बर १४१८ भएकी मनसिलाको नाम अहिले पनि लाभग्राहीको सूचीमा समावेस छ । उनले आर्थिक वर्ष २०७६/०७७ को अन्तिम चौमासिकसम्म भत्ता लिएको देखिन्छ ।
undefined
undefined
यस्तै, विक्रम संवत १९९८ साल फागुन १५ गते जन्म मिति भएकी तुलसादेबी खत्रीको २०७३ साल पुसमा मृत्यु भयो । तर नागरिकता नम्बर २३५८ भएकी तुलसादेबीको नाम गत असारबाट मात्र हटाइएको छ । मृतकको नाममा कसले सामाजिक सुरक्षा भत्ता लियो भन्ने थाहा नभएको उनका श्रीमान जगतबहादुर खत्रीले बताए ।
विक्रम संवत १९९२ साल चैत ३० गते जन्म भएकी अवमायाँ खत्रीको २०७३ सालमा मृत्यु भयो । तर नागरिकता नम्बर २६९० भएकी अवमायाँको नाम गत असारमा मात्र लाभग्राहीको सूचीबाट हटाइएको छ । २०७४ साल फागुनमा मृत्यु भएकी विष्णुमायाँ पौडेलको नाममा आर्थिक वर्ष २०७६/०७७ को दोश्रो चौमासिकसम्म भत्ता निकासा गएको पाइएको छ ।
व्यक्ति एक ठाउँको, लाभग्राही अर्कै ठाउँको
विधवा भत्ता लिँदै आएकी साकेला गाउँपालिका–४ मात्तिम (मानेभञ्ज्याङ) की टिकादेबी थापा कट्वाल (नागरिकता नम्बर ०९१०४९/३८) सुनसरीको रामधुनी नगरपालिका–५ बसाई सरिन् । दुई वर्षअघि स्थायी शिक्षकमा नाम निस्केपछि टिकादेबीले भत्ता लिन छाडेकी थिइन् ।
undefined
तर, साकेला गाउँपालिका–५ मात्तिम (बिर्ता) बाट टिकादेबीको नाममा आर्थिक वर्ष २०७६/०७७ सम्म भत्ता निकासा गइरहेको तथ्य बाहिरिएको छ । आफ्नो नाममा अर्कै वडाबाट सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको बारेमा टिकादेबी भने बेखबर छिन् । राज्यबाट दोहोरो सुविधा लिन नमिल्ने भएकाले उनले शिक्षकमा नाम निस्केपछि सामाजिक सुरक्षा भत्ता त्यागेकी थिइन् ।
यस्तै, विधवा तस्बिरा खत्री साकेला गाउँपालिका–४ मात्तिमकी बासिन्दा हुन् । तर साकेला गाउँपालिका–५ मात्तिमबाट पनि तस्बिराको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गइरहेको पाइएको छ ।
विधवाको सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सूचीमा २०२० साल माघ २ गते जन्मिएकी श्रवनीमायाँ राईको नागरिकता नम्बर १२३०२९/१३ उल्लेख छ ।
undefined
सोही वडामा श्रवनीमायाँकै जन्म मिति र नागरिकता नम्बर भएको अर्की सव्नीमायाँ राईको नाम पनि लाभग्राहीको सूचीमा देखिन्छ । उनीहरुको नाममा गत असारसम्म भत्ता निकासा भइरहेको देखिएको छ ।
एकै जनालाई एकल र विधवा भत्ता
नागरिकता नम्बर २१६८ भएकी मात्तिम (विर्ता) की अनुमायाँ राईले एकल महिलाको भत्ता लिँदै आएकी छन् । तर तिनै अनुमायाँको नाममा विधवा भत्ता पनि निकासा गइरहेको देखिएको छ ।
undefined
यद्यपि, गत असारमा उनको एकलतर्फको नाम हटाइएको पाइएको छ । यस्तै, नागरिकता नम्बर २३२५ भएकी एकल महिला पुड्कीमायाँ राईको नाममा विधवाको रकम पनि गएको पाइएको छ ।
undefined
नागरिकता नम्बर २८५/३८९ भएकी एकल महिला बालकुमारी राईको नाममा विधवा भत्ता समेत निकासा गएको देखिएको छ । तर गत असारमा बालकुमारीको विधवातर्फको भत्ता कटाइएको पाइएको छ ।
साकेला गाउँपालिका–५ मात्तिम (बिर्ता) मा आर्थिक वर्ष २०७६/०७७ मा प्रथम, दोश्रो र तेश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता भने एकै महिना फस्र्यौट भएको पाइएको छ ।
प्रथम चौमासिकको २०७७ साल असार ४ गते, दोश्रो चौमासिकको २०७७ साल असार १४ गते र तेश्रो चौमासिकको २०७७ साल असार ३१ गते फस्र्यौटका लागि वडा कार्यालयले गाउँपालिकामा पेश गरेको श्रोतले जनाएको छ ।
श्रोतका अनुशार आर्थिक वर्ष २०७६/०७७ को प्रथम चौमासिकमा ३१ लाख ७६ हजार ४ सय भत्ता निकासा भएकोमा सबै वितरण भएको, दोश्रो चौमासिकमा २७ लाख २३ हजार ६ सय पेश्की निकासा भएकोमा सबै वितरण भएको थियो ।
तर तेश्रो चौमासिकमा २६ लाख ७३ हजार ६ सय भत्ता निकासा भएकामा २५ लाख ६९ हजार ६ सय वितरण गरेर १ लाख ४ हजार फिर्ता भएको बताइएको छ ।
नक्कली कागजात खडा गरेर सामाजिक सुरक्षा भत्ता दुरुपयोगमा सम्वन्धित वडाका कर्मचारी दोषी रहेको सम्वन्धित जनप्रतिनिधिको दाबी छ । तर यसमा वडाका कर्मचारी मात्र होइन पेश्की फस्यौट गर्ने कर्मचारीको समेत कमजोरी देखिन्छ ।