सोलुखुम्बु : बजार अनुगमनमा स्थानिय सरकार चुक्दै

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, असोज २०

लकडाउनको समयमा बजारमा म्याद नाघेका सामान खरिद बिक्रि भईरहेको गुनासो बढदै गए पनि सोलुखुम्बुका स्थानिय सरकार बजार अनुगमनमा मौन देखिएको गुनासो बढेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ र उपभोक्ता हित संरक्षण ऐन २०७५ मा स्थानीय तहले उपभोक्ताको अधिकार संरक्षणका लागि वस्तु तथा सेवाको आपूर्ति, मूल्य, गुणस्तर तथा वस्तुको शुद्धता सम्बन्धी बजारको सुपरिवेक्षण तथा अनुगमनका लागि स्थानिय सरकारका उपप्रमुखको संयोजकत्वमा समिति गठन गरिएपनि बजार अनुगमन नभएको गुनासो बाक्लिएको हो ।

६ महिनाअघि जिल्ला प्रशासनको सक्रियतामा सल्लेरी क्षेत्रका मुख्य खाद्य स्टोर अनुगमन गरिएपनि चाडपर्व नजिकिदै गर्दा बजार अनुगमन नहुँदा उपभोक्ता ठगिने गरेको नेचाका उपभोक्ता विनोद राईले बताए । त्रैमासिक रुपमा एक पटक बजार अनुगमन गर्नुपर्ने भएपनि स्थानिय सरकारका उपप्रमुख संयोजकत्वमा गठित बजार अनुगमन समितिले ६ महिनामा एक पटक पनि बजार अनुगमन गरेका छैनन् ।

जिल्ला प्रशासनबाट प्रतिनिधि माग गरि बजार अनुगमन गर्ने छिट्टै बजार अनुगमन गर्ने नेचासल्यान गाउँपालिका उपाध्यक्ष कुमारीदेवी शर्माले बताईन् ।

व्यवहारीक कामले गर्दा समयमै बजार अनुगमन गर्न नसकिएको र चाडै बजार अनुगमन गरिने सोताङ गाँउँपालिका उपाध्यक्ष लक्ष्मी कार्की बस्नेतले बताईन् ।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छिट्टै सल्लेरी लगायतका क्षेत्रका बजार अनुगमन गर्ने सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईको भनाई छ ।

यता, जुनसुकै बेला स्थानिय सरकारले बजार अनुगमन गर्न सक्ने भएकाले जिल्ला प्रशासनको मुख नताक्न प्रमुख जिल्ला अधिकारी रमा आचार्यले आग्रह गरिन् । सोलुखुम्बुका आठ स्थानिय तहमा एक दर्जन बढि मुख्य बजार रहेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु