ओखलढुंगा, सोलुखुम्बु र खोटाङ सहित प्रदेश १ मा १४५ कोरोना संक्रमित थप

सोलुखुम्बु, भदौ १८


प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय ४५ जना कोरोना भाइरस (कोभिड–१९) नयाँ संक्रमित भेटिएका छन् । एकै दिनमा भेटिएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि एकै दिन यति धेरै संक्रमित भेटिएका थिएनन् ।

प्रदेश १ मा शुक्रबार दुई हजार एक सय ६१ जनाको पीसीआर परीक्षण गरिएकोमा ५३ महिला र ९१ पुरुषको रिपोर्ट पाजिटिभ आएको हो । दुई हजार १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार एक हजार सात सय ९० जनाको पीसीआर परीक्षण हुँदा प्रदेशमा संक्रमित संख्या ९५ जना मात्रै थियो । परीक्षण बढाउँदा संक्रमित हुनेको संख्या पनि धेरै देखिएको हो ।

नयाँ थपिएका संक्रमितमा सबैभन्दा बढी मोरङका ७० जना छन्। मोरङबाहेक सुनसरीमा ३४, झापामा २८, ओखलढुंगामा चार, उदयपुर, सोलुखुम्बु, भोजपुर र खोटाङमा एक–एक र प्रदेश १ बाहिरका पाँच जनामा संक्रमण देखिएको छ । विराटनगर बाहेक मोरङको बूढीगंगामा दुई महिला, चार पुरुष, लेटाङमा दुई महिला, सुनवर्षी र ग्रामथानका एक–एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

झापाको कनकाइका तीन महिला, आठ पुरुष, दमकमा तीन महिला, दुई पुरुष, मेचीनगरमा चार पुरुष, भद्रपुर र झापा गाउँपालिकामा तीन–तीन, कचनकवल र गौरीगञ्जमा एक–एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । ओखलढुंगाको मानेभन्ज्याङमा दुई महिला, दुई पुरुष, भोजपुरमा एक पुरुष, उदयपुरको त्रियुगाका एक पुरुष, सोलुखुम्वु र खोटाङको स्थानीय तह नखुलेका एक–एक पुरुष र प्रदेश १ बाहिरका एक महिला, चार पुरुषमा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या तीन हजार आठ सय २५ पुगेको छ । हालसम्म ९५ हजार चार सय ५९ जनाको पीसीआर परीक्षण भएकोमा ९१ हजार छ सय ३४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

-->

सम्बन्धित शीर्षकहरु