खोटाङको रावावेसी गाउँपालिकाको स्कार्पियो गाडीमा आगजनी

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, मंसिर २३

खोटाङको रावावेसी गाउँपालिकाको स्कार्पियो गाडीमा आगजनी भएको छ । गएराति गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाको घर छेउमा पार्किङ गरिराखेको बा २ झ ३५२४ नम्बरको महेन्द्रा स्कार्पियो अज्ञात समुहले आगजनी गरेको हो ।

आगजनीबाट गाडीमा पूर्णरुपमा क्षतिपुगेको अध्यक्ष निरौलाले जानकारी दिए । सोमबार राती अन्दाजी १२ः५५ बजे आगजनी भएको हो । रातको समयमा ठूलो आवाज पड्केको सुनेपछि हेर्दा गाडीमा आगजनी भईरहेको उनले बताए ।

गाडीमा आगजनी भएको खबर प्रहरीलाई गरेपछि कुभिण्डेको हरमटार र ऐंसेलुखर्कबाट आएको प्रहरीको टोलीले राती साढे १ बजे आगो नियन्त्रणमा लिएका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बामदेव गौतम राती नै घट्नास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् । २०७४ सालमा ३६ लाखमा खरीद गरिएको गाडी गाउँपालिका अध्यक्षले प्रयोग गर्दैै आएका थिए ।

मंसिर १५ मा दोर्पाको लप्से खोला पंखुखोलामा र चखेवा भन्ज्याङमा गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको चार वटा स्काभेटर अज्ञात समुहले जलाइदिएका थिए ।

यसैबीच, स्कार्पियो आगजनीको विषयमा रावावेशी गाउँपालिकाले विज्ञप्ती जारी गर्दै घटनाको भर्सना गरेको छ । आज गाउँपालिका अध्यक्ष लिलानाथ निरौला सहित कार्यपालिका सदस्यहरुले विज्ञप्ती जारी गर्दै भौतिक सम्पत्तीमा पुर्याएको क्षतिले मर्माहत बनाएको र घटनामा संलग्नलाई पहिचानगरि कारबाही गर्न माग गरिएको छ भने सुरक्षा चुनौति बढेकाले धनजनको आवश्यक सुरक्षाका लागि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराईएको छ ।

-->

सम्बन्धित शीर्षकहरु