६४ बर्षको इतिहासमा सगरमाथा आरोहण अनुमति लिनेको नयाँ रेकर्ड

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, ५ बैशाख

बिश्वको सर्बाेच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । आज सम्मको रेकर्ड अनुसार यस बर्ष सगरमाथा आरोहणका लागि ३ सय ६५ जनाले सगरमाथा आरोहणका लागि सरकारबाट अनुमति लिएका छन् । र अनुमति लिने क्रम अझै चलिरहेको पर्यटन बिभागका सुचना अधिकारी दुर्गादत्त ढकालले जानकारी दिए । अघिल्लो बर्ष सगरमाथा आरोहणका लागि ३४ समुहबाट २ सय ८९ जनाले सरकारबाट अनुमति लिएका थिए । र अहिलेको संख्या अहिले सम्मकै सबैभन्दा उच्च रहेको बिभागले जनाएको छ ।

सरकारबाट अनुमति लिने सबै आरोहीहरुले सफल्ता पुर्बक सगरमाथा आरोहण गरेपनि÷नगरेपनि अनुमति लिनेको संख्या भने सगरमाथा आरोहणको ६४ बर्षको इतिहासमा अहिले सम्मको सर्बाधिक रहेको ढकालले बताए । सन् २०१४ र १५ मा प्राकृतिक बिपत्तिका कारण आरोहण अबरुद्ध भएपनि सन् २०१६ मा आरोहण सफल भए पछि यस बर्ष आरोहीको लर्काे लागेको हुन सक्ने ढकालको बुझाइ छ । सन् २०१४ मा सगरमाथामा गएको हिम पहिरोका कारण आरोहण अबरुद्ध भएपछि रुट परमिट लिइसकेकाहरुलाइ यस बर्ष सम्म पुरानै शुल्कमा आरोहण गर्ने सुबिधा दिएकाले पनि आरोहीको संख्यामा बृद्धी भएको बिभागको बुझाइ छ ।

०१४ पछि ३ बर्ष भित्र आरोहण गरे पहिले लिएकै अनुमति पत्रलाइ आधार मानेर पहिले तिरेकै शुल्कमा आरोहण गर्ने सुबिधा सरकारले दिएको थियो । पर्यटन बिभागका सुचना अधिकारी ढकालले भने, ‘त्यो तीन बर्षको अबधीको यो अन्तिम बर्ष हो, त्यसैले अबसर नगुमाउन आरोहीहरु आएका छन् । त्यसैले आरोहीको संख्या यस बर्ष अधिक हुने देखिएको छ ।’ आरोहीहरु अनुमति लिइ आउने क्रम अझै बाँकी भएकाले यो संख्या बढेर ४ सय नाघ्ने बिभागको अनुमान छ । तर ३ बर्ष अघि नै आरोहण अनुमति लिएकाहरु यस बर्ष कति आए भन्ने तथ्याङक भने अहिले नै भन्न नसकिने ढकालको भनाइ छ ।

यस्तै मंगलबार सम्मको रेकर्ड अनुसार ल्होत्से हिमालको आरोहणका लागि ८ ग्रुपमा १ सय, नुप्त्से हिमालका लागि २ ग्रुपमा १९ जना र आमाडब्लमका लागि २ समुहमा २५ जना आरोहीले अनुमति लिएको बिभागले जनाएको छ ।

आरोहीको संख्या अधिक रहेकाले सन् २०१२ मा सगरमाथामा आरोहीहरुको ट्राफीक जाम हुदा आरोहीहरुले सास्त पाएका थिए । यस बर्ष पनि ट्राफीक जाम हुने खतरा रहेको सरोकारवालाहरुको भनाइ छ । तर यस बर्ष आरोहीहरुको आउजाउका लागि कुशल ब्यबस्थापन गरिएकाले ट्राफीक जाम नहुने नेपाल पर्बतारोही संघका अध्यक्ष आङछिरिङ शेर्पाले बताए । अहिले सगरमाथा आधार शिबिर पनि आरोही र तीनका सहयोगहरुका कारण खचाखच रहेको छ ।

सगरमाथा आरोहीले ८ केजी फोहोर बोक्नै पर्ने

सर्बाेच्च शिखर सगरमाथा आरोहण गर्ने प्रत्यकले यस बर्ष पनि ८ केजी फोहोर संकलन गरि आधार शिबिर सम्म ल्याउनु पर्ने भएको छ । खुम्बु क्षेत्रमा लामो समय देखि सरसफाइ संबन्धी काम गर्दै आएको एसपिसिसिले यस बर्ष पनि यो नियमलाइ निरन्तरता दिन लागेको हो । अहिले ३ सय ८३ जना बिदेशी तथा स्वदेशि आरोहीहरु सगरमाथा सहीत तीन हिमाल आरोहणका लागि आधार शिबिरबाट उकालो लाग्न थालिसकेका छन् ।

ती सबै आरोहीहरुले सगरमाथाको चुचुरोमा पुगि फर्केने क्रममा आफुले गरेको फोहोर सहित ८ केजी फोहोर संकलन गरेर आधार शिबिरमा सगरमाथा प्रदुषण नियन्त्रण समितिलाइ बुझाउनु पर्ने एसपिसिसिका कार्यक्रम अधिकृत कपिन्द्र राइले जानकारी दिए ।

सन् २०१३ मै यो नियम बनाइए पनि गएको दुइ बर्ष आरोहण कार्य स्थगित भए पछि गत बर्षबाट कडाइका साथ कार्यन्वयन गरिएको हो । यस अघि आरोहण कार्यमा सरसफाइलाइ ध्यान नदिइदा सगरमाथाको क्याम्प १ देखि २ सम्मका स्थलहरुमा फोहोर धेरै थुप्रिएको र सगरमाथा प्रदुषित बन्दै गएकोमा सो क्षेत्रका सरोकारवालाहरुले चिन्ता ब्यक्त गर्दै आएका थिए ।

आरोही तथा तीनका सहयोगीहरुले अक्सीजनका सिलिण्डर, क्यान, खाना खाने क्रममा उब्जीएका फोहोरहरु संकलन गरेर ल्याउनु पर्ने नियम बनाइएको छ । यस नियमलाइ कडाइका साथ पालना गर्न सकिए आगामी केही बर्ष मै सगरमाथालाइ फोहोर मुक्त बनाउन सकिने राइले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!