२ बर्ष भित्र हिमाल एफ एमको सुविधा सम्पन्न भवन बन्ने

शिखर गजरकोटे
सोलुखुम्बु, १४ पौष

आगामी २ बर्षमा हिमाल एफ एमको सुविधासम्पन्न भवन बन्ने भएको छ । होटल तिब्बत ईन्टरनेशनल बौद्धमा आयोजित एफ एमको संचालक संस्था हिमाली सञ्चार लिमिटेडले चौथो साधारण सभाका क्रममा संचालक समितिले आगामी २ बर्ष भित्र सोलुखुम्बुको सल्लेरीमा भवन निर्माणलाई पुर्णता दिने बताएको हो । बार्षिक प्रगति प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन सर्वसम्मतले अनुमोदन गरेको सभामा भवन निर्माणका लागि ५५ लाख शेयर रकम संकलन भएको छ ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले हिमाल एफ एमले पुर्वी क्षेत्रमा स्वतन्त्र र निष्पक्ष सञ्चार छवि बनाएको भन्दै प्रशंसा गर्नुभयो । त्यस्तै, पुर्वसभाषद तथा माओबादी नेतृ आङदावा शेर्पाले हिमाल एफ एमको स्थापना संगै सोलुखुम्बुमा निष्पक्ष पत्रकारिताको शुरुवात भएको बताउनुभयो ।

नेपाली कांग्रेसका यूवा नेता आङगेलु शेर्पाले प्रविधिको युग संगै सञ्चारको भोक मेट्न एफ एम तल्लिन रहेकोमा जोड दिनुभयो । टे«किङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)का उपाध्यक्ष निलहरी वास्तोलाले पर्यटनको प्रर्वद्धनमा सञ्चारको महत्वपुर्ण रहेको भन्दै आफ्नो संस्था हातेमालो गरेर अघि बढ्न चाहेको प्रष्ट पार्नुभयो । हिमाली सञ्चार लिमिटेडका सचिब कर्मा शेर्पाले नागरिकको असली आवाज मुखरित गर्ने आफूहरुको दायित्व भएको भन्दै कसैले चाहदैमा रेडियोको यात्रा नरोकिने दाबी गर्नुभयो ।

कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन संस्थाका प्रबन्ध निर्देशक भानुभक्त निरौलले प्रस्तुत गर्नुभएको थियो भने लेखा विवरण कोषाध्यक्ष दावागेलु पाख्रिनले सार्वजनिक गर्नुभएको थियो । उपाध्यक्ष आङफिन्जो शेर्पा भवन निर्माणको प्रगति प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष निमा शेर्पाले पुर्वी भेगका नागरिकले रेडियोलाई दिएको विश्वासलाई ऊर्जाको रुपमा लिदै परिक्षण प्रसारणमा रहेको रेडियो एभरेष्टलाई विश्वकै अग्लो स्थानवाट प्रसारित रेडियोको सूचीमा अभिलेखिकरण गर्ने कोशिस भईरहेको बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु