१८ सय बढि पर्यटक खुम्बु प्रवेश

राधा ढुंगाना सोलुखुम्बु, ८ असोज । पर्यटकीय क्षेत्र खुम्बुमा पर्यटकको चाप ह्वातै बढेको छ । यो वर्ष सिजन सुरु नहुँदैदेखि पर्यटकहरु खुम्बु प्रवेश गर्न थालेका हुन् । अहिले पनि दैनिक २०० सय भन्दा बढिको संख्यामा पर्यटक लुक्लाबाट उकालो लाग्न थालेका छन् । सेप्टेम्बर १ देखि आजसम्ममा १८ सय ६८ पर्यटक खुम्बु भित्रिसकेका छन् । त्यसमा खुम्बु भ्रमण गरी ९ सय ८२ जना फर्किइसकेको पर्यटन प्रहरीले जनाएको छ ।

शुत्रबार मात्रै १ सय ३८ जना पर्यटक खुम्बु प्रवेश गरेको छन् । मौसम अनुकुल नबन्दा कतिपय पर्यटकहरु काठमाडौमै रोक्किएका छन् । यो सिजन सुरु भएयता असोज १ गते ३ सय ३५ जनासम्म पर्यटक नाम्चे पं्रवेश गरेको एक दिनमा प्रवेश गरेको ईलाका प्रहरी कार्यलय नाम्चेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । पर्यटकीय सिजन सुरु भएसँगै सुरक्षालाई मजबुद बनाउन थप १० जना प्रहरीहरु गस्तीमा खटाइएको न्यौपानेले बताए । प्रहरी निरीक्षक न्यौपानेले भने, ‘पर्यटन प्रहरीको संख्या कम छ, पर्यटकको चाप धेरै भएपछि हामीले संकास्पद स्थलहरुमा प्रहरीहरुलाई खटाएका छौँ ।’

अधिकांश पर्यटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं हुँदै तेन्जिङ हिलारी विमान स्थल लुक्ला आएका छन् भने कतिपय पर्यटक पैदलबाट फाप्लु हुँदै नाम्चे पुगेका छन् । भदौको अन्तीम सातादेखि नै पर्यटकहरु खुम्बु प्रवेश गर्न थालेका हुन् । पर्यटकको आगमनसँगै यस क्षेत्रमा भरियाहरुको समेत चहलपहल बढेको छ । सिजन सुरु भएसँगै खुम्बु फर्कीएका व्यवसायिहरु पर्यटकको चाप बढेपछि व्यस्त बनेका छन् ।

वर्षायाम सकिएसंगै भदौको मध्यदेखि कात्तिक महिनाभर खुम्बुमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ । पर्यटक नआउने महिना असार÷साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायी समेत फर्किएकाले अहिले खुम्बुमा चहलपहल निकै बाक्लो रहेको छ ।
सगरमाथा क्षेत्रमा वर्षभरिमा यही मौसममा सबैभन्दा बढी विदेशी पर्यटक आउने गर्दछन् । प्रकृतिक सुन्दरता देखिने यो मौसममा लेक समेत कम लाग्ने स्थानीयको भनाइ छ । मौसम शुरु भएसँगै लुक्ला विमानस्थलमा हवाइजहाज तथा हेलिकप्टरको चाप बढेको छ । तारा एअर लुक्लाका इन्चार्ज फुनुरु शेर्पाले लुक्लामा हवाई उडानमा चाप बढेको बताए । शर्पाले भने, ‘पर्यटकको चाप बढेसँगै अहिले मौसम अनुकुल हुँदा दैनिक २० भन्दा बढि हवाई हुने गरेको छ । ’

यो मौसममा पनि पर्यटकको आगमन राम्रो हुने स्थानीयको अनुमान छ । स्थानीय मिङमा शेर्पाले भने, यो वर्ष पर्यटकहरु सिजन सुरु नहुँदै खुम्बु प्रवेश गरे थालेका हुन्, यहि क्रममा पर्यटक भित्रिने हो भने यो वर्ष पर्यटकको आगमनमा बृद्धि हुने देखिन्छ ।’
सुरुआतमै पर्यटकको आगमन राम्रो भएकाले आफूहरु उत्साहित भएको व्यवसायीहरुले बताएका छन् । ‘लुक्लाका एक व्यवसायि तोया श्रेष्ठले भने, ‘पर्यटकहरु धमाधम आउन थाले, अव त पर्यटकको स्वागत गर्नै फुर्सद छैन हामीलाई । ’

केहि पर्यटकहरु खुम्बु क्षेत्र भ्रमण अवलोकन गरी फर्कन थालेका छन् । तर मौसम प्रतिकुल बन्दा खुम्बुबाट फर्कने तथा भ्रमणका लागी आउने पर्यटकहरु भने अलपत्र बनेका छन् । बिहिबार लुक्ला विमानस्थलमा कुनै पनि उडान तथा अवतरण हुन सकेन भने शुत्रबार पनि निर्धारित उडानहरु सवै हुन नसकेका हुन् । मौसमले साथ नदिदा काठमाडौबाट लुक्ला र लुक्लाबाट काठमाडौ फर्कने तयारीमा रहेका सयौँ पर्यटकहरु अलपत्र परेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!