हिमपातको प्रभाव : सल्लेरी-ओखलढुंगा सडक अबरुद्ध

सोलुखुम्बु, मंसिर २८

सोलुखुम्बुको विभिन्न स्थानमा बाक्लो हिउँ परेपछि जनजीवन प्रभावित बनेको छ । शुक्रबार दिउँसो देखि जिल्लाको खुम्बु क्षेत्र र पिकेडाँडा, पत्तालेडाँडा, सिलगुडीडाँडा, लामजुरा पास लगायतका क्षेत्रका बाक्लो हिउँ परे संगै चिसो ह्रवात्तै बढेको छ ।

दुई दिनको बाक्लो हुस्सु र तुसारोपछि शुक्रबार देखि हिउँ पर्न थालेको लुक्लाबाट तोया श्रेष्ठले जानकारी दिए । नाम्चेमा दुई फिट बाक्लो हिउँ परेको जसराज राईले बताए । उनले भने, ‘अहिले पनि हल्का हिउँ परिरहेको छ । नाम्चे कुहिरोले ढाकेको छ ।’ हिउँसंगै हल्का बर्षा र हुस्सु लागेकाले हिमाली जीवन प्रभावित बनेको छ ।

जिल्लाका तल्लो क्षेत्र सल्लेरी बजारमा समेत हिउँ परेको छ । चिसो बढेपछि बालबालिका र जेष्ठनागरिकलाई समस्या भएको छ । चिसोबाट बच्न ठाउँठाउँमा सामूहिक आगो बाल्ने र ताप्ने काममा सर्वसाधारण व्यस्त रहेका छन् ।

पत्ताले सडकखण्ड अबरुद्ध

शुक्रबार देखि हिउँ परेपछि सल्लेरी–ओखलढुंगा सडकखण्डको पत्ताले सडक अबरुद्ध बनेको छ । लगातार परेको हिउँ सडकमा एक फिट बढि जमेकाले सवारी आवतजावत अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोलुदुधकुण्ड नगरपालिका ८ बाघखोर देखि ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको टोड्केसम्म करिब १५ किलोमिटर सडकमा हिउँ जमेर सवारी गुड्ने अवस्था नरहेको प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरियाले बताए ।

सडक अबरुद्ध बनेपछि सल्लेरीका लागि छुटेको रात्रीबस ओखलढुंगामा र सल्लेरीबाट काठमाण्डौ र तराईको भूभागका लागि गुड्ने सवारी अलपत्र परेका छन् ।

छिटो प¥यो हिउँ

अघिल्लो बर्ष माघ अन्तिममा हिउँ परको सोलुखुम्बुमा यो पटक मंसिरको अन्तिममै परेको हो । हिउँले अत्याधिक चिसो महसुस गराएको छ ।

विगत ३० बर्षकै बाक्लो हिउँ परेको पत्तालेका प्रकाश मगरले बताए । उनले भने, ‘छोटो समयमा यति बाक्लो हिउँ परेको पहिलोपटक थाहा पाएको छु ।’
हिउँ परेपछि सदरमुकाम क्षेत्रका तरुण अवस्थाका यूवायूवतीहरु सल्लेरी नजिकका स्थानमा हिउँ खेल्न निस्केका छन् । पत्ताले क्षेत्रमा ओखलढुंगाबाट पनि यूवायूवतीहरु हिउँ खेल्न पुग्ने गर्छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!