स्यालको टोकाइबाट खोटाङमा पाँच जना घाइते

१५ श्रावण,स्यालको टोकाइबाट खोटाङमा पाँच जना घाइते भएका छन् । जथाभावी हिँडीरहेको स्यालको टोकाइबाट दोर्पाचिउरीडाँडा–५ का ७८ वर्षीय थिरप्रसाद खनाल, २७ वर्षीया शुसिला खनाल, २१ वर्षीया रञ्जु खनाल, २७ वर्षीया सुनिता खनाल र दोर्पाचिउरीडाँडा–१ का १३ वर्षीय सन्देश राई घाइते भएका हुन् । घाइतेमध्ये गम्भीर बिरामी बनेका थिरप्रसाद, शुसिला र सन्देशलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको स्थानीय भोजराज खानालले बताउनुभयो । उहाँका अनुसार अन्य बिरामी आफै हिँडेर अस्पताल गए पनि थिरप्रसादलाई स्ट्रेचरमा बोकेर अस्पताल ल्याइएको छ । स्थानीयका अनुसार बुधवार बिहान थिरप्रसाद, शुसिला, रञ्जु र सुनितालाई रोपाइँका लागि खेततर्फ जाँदै गरेको अवस्थामा स्यालले टोकेको हो भने, सन्देशलाई सदरमुकाम दिक्तेल जाँदै गरेको अवस्थामा बाटोमा टोकेको बताइएको छ । बहुला स्यालले सुशिलाको अनुहार र तिघ्रामा, थिरप्रसादको दाहिने खुट्टा र सुनिताको घुँडामा टोकेको छ । गाउँका मान्छेलाई टोक्दै हिँडेको बहुलाहा स्याललाई तत्कालै स्थानीयले मारेका छन् । बहुलाएको स्यालको टोकाइबाट एकैसाथ पाँच जना घाईते बनेपछि स्थानीय सिर्जनसिल इंग्लिस बोर्डिङ स्कुल दुई दिनका लागि बन्द गरिएको छ । गाउँमा बहुला स्यालको त्रास फैलिएका कारण विद्यालय बन्द गरिएको स्थानीयको भनाइछ । घटनाको विषयमा कार्यालयमा जानकारी आए लगत्तै टोली पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरीक्षक यादव गौतमले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु