सोलु प्रहरीद्धारा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति सार्वजनिक, आफ्नै छोरीलाई जबरजस्ती गर्ने देखि …..

शिखर गजरकोटे
सोलुखुम्बु, १० बैशाख

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई सार्वजनिक गरेको छ । आईतबार सामुदायीक प्रहरी परिसरमा पत्रकार सम्मेलन गर्दै चोरी, जबरजस्तीकरणी र केहि सार्वजनिक अपराधमा संलग्न ८ जना व्यक्तिलाई सार्वजनिक गरिएको हो ।

प्रहरीले २०७४ फागुन १३ गते सल्लेरीको ६ वटा पसल र फागुन २४ गते तामाखानीको ज्वालामाई मन्दिरमाचोरी गर्ने खोटाङ जाल्पाका अनिल श्रेष्ठलाई सार्वजनिक गरेको छ । पोखरावाट प्रक्राउ परेका श्रेष्ठ ओखलढुंगा, उदयपुर, खोटाङ लगायतका क्षेत्रमा भएका चोरीमा संलग्न भएको खुलासा भएको छ । चोरीमा संलग्न सामाग्री समेत सार्वजनिक गरिएको छ ।

त्यस्तै, चैत्र २७ गते सल्लेरीवाट निर्माण सामाग्री चोरीमा संलग्न तिङलाका मुकेश खड्का, अर्जुन खड्का, भल बहादुर विश्वकर्मा र थुलुङ दुधकोशी गाउँपालिका १ नेलेका अर्जुन भूजेललाई पनि सोलु प्रहरीले सार्वजनिक गरेको छ । फरार रहेका एक व्यक्तिको खोजि भईरहेको छ ।

१४ बर्षको बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा ५० बर्षका बालिकाको बाउलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । साईली छोरीलाई आफ्नै बाउले ११ बर्षको उमेरदेखि जबरजस्तीकरणी गर्दै आएका थिए । पछिल्लो पटक चैत्र २९ गते छोरीलाई जबरजस्ती गरेको पिडितकी आमाको उजुरीको आधारमा पिडिक बाउलाई पक्राउ गरिएको थियो । छोरीको पेटमा २४ हप्ताको गर्भ रहेको परिक्षणवाट पत्ता लागेको छ । प्रहरीले धम्काउन र त्रसाउन प्रयोग गरेको एक थान खुकुरी र डोरी समेत सार्वजनिक गरेको छ ।

बैशाख ४ गते पुर्वी क्षेत्रको बन्द गराउन सोलुखुम्बुका यातायात व्यवसायीलाई दबाब दिएको आरोपमा विप्लब माओबादी सम्बद्ध जिल्ला जनपरिषद प्रमुख विवेक राई र जिल्ला सेक्रेटरी मनि कुमार राईलाई समेत पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको छ ।

विभिन्न अपराध अनुसन्धानमा सफल देखिएको सोलुखुम्बु प्रहरीले थुलुङ दुधकोशी गाउँपालिका र सोताङ गाउँपालिकामा स्काभेटरमा भएको आगजनीका बारेमा अनुसन्धान जारी रहेको बताएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक रेशम पराजुलीले जबरजस्तीकरणीमा मेलमिलाप हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । महिला विकास अधिकृत रश्मि श्रेष्ठले बालिका माथी परिवारको सदस्यवाट यौनजन्य हिंसामा पर्ने क्रम बाक्लिएकाले सबैलाई सचेत हुन आग्रह गर्नुभयो । उहाँले आगामी भाद्र देखि लागु हुने गरि पिडिकलाई आ–जन्म कैदको व्यवस्था गरिएको जानकारी समेत दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु