सोलु जलविद्युत आयोजना : विद्युत उत्पादनमा ढिलाई

सोलुखुम्बु – गत मंसिरमा निर्माण सम्पन्न गरि आन्तरिक परीक्षण सफल गरेको सोलु जलविद्युत आयोजना (२३.५ मेगावाट)ले गर्ने विद्युत उत्पादन गर्न सकेको छैन् । निर्माण सम्पन्न भएको आयोजनाले राष्ट्रिय प्रसारण लाईनमा जोड्ने सोलु करिडोरको काम नसकिदा विद्युत उत्पादन अन्यौल बनेको छ । सरकारले अध्ययन गरेर निजी क्षेत्रलाई निर्माण गर्न दिएका ६ आयोजना (सुपर सिक्स) मध्येको एक यो आयोजनाको नेपाल विद्युत प्राधिकरण र नेपाल विद्युत् विकास विभागका प्राविधिक आएर अन्तिम परीक्षण गर्न समेत बाँकी रहेको छ ।


सोलु कोरिडोर निर्माणमा ढिलाई भएपनि वैकल्पिक रूपमा ३३ केभी प्रसारण लाइनमा जोडेर लाम्माने–ओखलढुंगा–बुइपा–गाइघाट पठाउने योजना बनाईएको भएपनि काम हुन सकेको छैन् । आयोजनाका साइड प्रशासन प्रमुख बद्रीमान श्रेष्ठका अनुसार प्राधिकरण र विभागबाट हुने टेष्ट बाँकी रहेको छ ।


अपर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीले प्रर्वद्धन गरेको उक्त जलविद्युत आयोजनाले ४ बर्ष बढि समय लगाएर आयोजनाको काम सम्पन्न गरेको हो । तिन बर्षमा सम्पन्न गर्ने आयोजना भौगोलिक जटिलता र २०७२ सालको भुकम्पको कारण एक बर्ष निर्माण समय लम्बिएको थियो । सन् २०१० मा ऊर्जा मन्त्रालयको अनुमतिपछि सन् २०११ बाट प्रारम्भिक काम सुरु गरी २०१४ बाट निर्माणको काम थालेको थियो ।


खोलाको पानीको बहावमा आधारित आयोजनाको तल्लो भागमा १ सय ७० मिटर लामो टनेल छ भने टनेलभित्र हाइ प्रेसर पाइप बिच्छ्याएको छ । कुल ४.३ किलोमिटरको पाइपमध्ये तीन सय ९ मिटर लो प्रेसर र चारसय मिटर हाई प्रेसर संरचनामा पर्ने आयोजनाका साइड प्रशासन प्रमुख बद्रीमान श्रेष्ठले बताए


सोलु खोलाको पानी नियन्त्रण गर्न ४.२ मिटर उचाइ र २६ मिटर लम्बाइको बाँध निर्माण भएको छ । बाँधको पानी आवश्यक परेको समयमा रोक्न र बढी हुँदा खोल्न तीन मिटर लामो दुईवटा गेट भएको ‘स्लुइस’ निर्माण गरिएको छ । २.५ मिटर ब्यास र १.९ मिटर उचाइका पेनस्टक पाइप छन्। आयोजनामा १.२ मिटर उचाइ र ४.३ मिटर लम्बाइका तीनवटा इन्टेक गेट बनाइएको छ ।


आयोजनाको कन्स्ट्रक्सनको काम ‘सीई कन्स्ट्रक्सन’ले गरेको हो । आयोजनाका लागि लक्ष्मी बैंकको नेतृत्वमा आठवटा बैंक र एक जलविद्युत् तथा विकास कम्पनीले ७५ प्रतिशत लगानी गरेका छन् । २५ प्रतिशत कम्पनीको इक्विटी रहेको छ ।



पूर्णस्वदेशी लगानीमा निर्माण भएको आयोजनाको लागत ४ अर्ब ४० करोड रुपैयाँ रहेको आयोजनाले विद्युत उत्पादन गर्न नपाउदा लगानी जोखिममा परेको छ । प्रभावित नागरिकको आन्दोलनपछि आयोजनाले प्रमोटर (संस्थापक) शेयर वितरण गरेको थियो । शेयरकर्ताले विद्युत खपतको वातावरण सृजना गर्नका लागि दबाबमूलक ध्यानाकर्षण गर्दै आएको छ ।


आयोजनाबाट अतिप्रभावित मानिएको साल्मेबासीले प्रादेशिक विद्युत प्राधिकरणको कार्यालय विराटनगरको ध्यानकर्षण गराएका छन् । २३.५ मेगावाटको आयोजनाबाट विद्युत उत्पादन गरि यथासिघ्र खपत गरिनुपर्ने, प्रभावितलाई नशुल्क विद्युत उपलब्ध गराउनुपर्ने लगायतका माग सहित प्रादेशीक प्राधिकरणको ध्यानाकर्षण गराएको सरोकार समाज समितिका अध्यक्ष राजकुमार प्रधान बताए ।


उनले भने, ‘हामी साल्मेबासी १९ घरपरिवारले न्यूनतम ३० हजार देखि अधिकतम ३ लाख सम्म संस्थापक शेयर हालेका छौ । आयोजना सम्पन्न भएपनि विद्युत खपतको वातावरण नबन्दा हाम्रो लगानी जोखिममा प¥यो । हामी झन् प्रभावित बन्यौ ।’ आयोजनाले साविकको गार्मा गाविसको वडा नं ६ र ७ लाई अति प्रभावितमा राखेको छ ।


समयमा सकिएन सोलु करिडोर


सोलुखुम्बुमा उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण लाईनमा जोड्ने गरि निर्माण थालिएको सोलु करिडोरको काम तोकिएको समयमा नसकिने भएको छ । २५ सेप्टेम्बर २०१६ देखि शुरु भएको करिडोरको काम २०२० जनवरी अन्त्यसम्म काम सक्नुपर्ने थियो । हालसम्म ३०३ वटा टावरमध्ये २३९ वटा टावरको फाउण्डेशन सकिएको छ । ६४ वटा फाउण्डेशनको काम बाँकी रहेको १३२ केभी प्रसारण लाईन (सोलु करिडोर)का आयोजना प्रमुख जर्नादन गौतमले जानकारी दिए ।


‘१४६ टावर ईरेक्सन गरिएको छ भने ९० किलोमिटरमध्ये २३.५ किलोमिटर तार तान्ने काम पनि सकिएको छ ।’ आयोजना प्रमुख गौतमले भने, ‘अहिले हिमपातका कारण उच्च भागमा काम अबरुद्ध छ । कुनै अबरोध नभए आगामी ६ महिनामा करिडोरको काम सम्पन्न गछौ ।’ काम तिब्र गतिमा भईरहेको गौतमको दाबी छ । यद्यपी, अहिलेसम्म प्राधिकरणको प्राविधिक टोलीले फाईनल टेष्ट गरिसकेका छैनन् ।


ग्रामिण विद्युतीकरणको माग


निर्माण भएको आयोजनाले विद्युत खपत गर्ने वातावरण नबनेको अन्यौलको अवस्थामा प्रभावित क्षेत्रका नागरिकले ग्रामिण विद्युतीकरणको चर्को आवाज उठाउन थालेका छन् । ८२ मेगावाटको तल्लो सोलुजलविद्युत आयोजनाको प्रभावित तिङलाका स्थानयले यथासिघ्र विद्युतीकरणको माग गर्दै शनिबार आन्दोलन नै चर्काए ।


जिल्ला भित्रिएको ३३ केभी प्रसारण लाईनको विद्युत उद्घाटन गर्ने कार्यक्रम विथोले । विद्युतीकरणको माग गर्दै आन्दोलित स्थानीय र जनप्रतिनिधहरुको टोली बीच शनिबार झडप हुदा मानवीय क्षति नभएपनि दर्जन मोटरसाईकल र एक बोलेरो जल्ने परिस्थिती बन्यो । नेपाल विद्युत प्राधिकरणले तिङलामा तत्काल ग्रामिण विद्युतीकरण थाल्ने भएपछि उनीहरुले आन्दोलन स्थगीत गरेका छन् ।


जिल्लामा नेपाल विद्युत प्राधिकरणको कार्यालय स्थापना भईसकेको छ । करिब दुई महिनाको अवधिमा ३३ केभी प्रसारण लाईनको विद्युत जिल्लासम्म ल्याउन सफल भएको छ भने नेले–जोरबौद्ध क्षेत्रमा विद्युतको पोल र तार तान्ने काम भईरहेको छ । तिङला–पत्तालेमा पोल गाड्ने र तार तान्ने ७० प्रतिशत काम सम्पन्न गरेको कार्यालयका लेखापाल ऋषिराम काफ्लेले जनाए ।

वैकल्पिक उपाय कार्यान्वयन भएन


केही महिना अघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनाको विद्युत खेर जान नदिने बताएका थिए । उनले सोलु कोरिडोर प्रसारण लाइनको काम नसकिएपनि वैकल्पिक रुपमा ३३ केभी ओलखढुंगा–बुइपा–सल्लेरी प्रसारण लाइनमा विद्युत जोड्ने र विद्युत खेर जाने अवस्थाबाट जोगाउने बताएका थिए । तर कार्यान्वयन हुन सकेको छैन् । जस्ले गर्दा लगानी जोखिममा परेको छ भने आगामी २ बर्षमा मूलुकभर ग्रामिण विद्युतीकरण गर्ने प्राधिकरणको लक्ष्यमा समेत प्रभाव पार्ने देखिन्छ ।

२ सय १४ मेगावाटको आयोजना बन्दै


सोलुखुम्बुस्थित सोलु कोरिडोरमा जोडिने गरि २ सय १४ मेगावाटका जलविद्युत आयोजना निर्माण भइरहेका छन् । निजी क्षेत्रले अघि बढाएका ५ देखि ८६ मेगावाटका ५ आयोजना अहिले निर्माण भइरहेका हुन् । यी आयोजनामध्ये अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरेको सोलु आयोजना निर्माण सम्पन्न भईसकेको छ ।


८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको काम धमाधम भईरहेको छ । यो आयोजना साहस ऊर्जा कम्पनीले निर्माण गरिरहेको छ । १९.५ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजनाको काम पनि भईरहेको छ । आयोजनाको सिभिल संरचना निर्माणको काम ६५ प्रतिशतबाट उकालो लागेको छ । बेनी हाइड्रो पावर कम्पनीले २०७३ बाट सुरु गरेको आयोजनाको संरचना निर्माणको काम भईरहेको छ । आयोजनाबाट २०७७ पुसदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।


सोलुको सहायक खोलामा ५ मेगावाटको जुनवेसी आयोजना निर्माणाधीन अवस्थामा छ । यो आयोजना करिब ६० प्रतिशत पूरा भएको छ । एक अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना चालु बर्षभित्र सम्पन्न गरेर विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । सोलुको सहायक सिसा खोलामा २ मेगावाटको सिसाखोला आयोजना निर्माण हुँदैछ । यो आयोजना सोलुको प्रर्वद्धक अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीले निर्माण गर्दैछ ।


सोलु, तल्लो सोलु, माथिल्लो सोलु र जुनवेशीको विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङला लाम्माने सव–स्टेसनमा जोडिने छन् । प्रसारण लाइनको निर्माणले गति नलिँदा प्रर्वद्धकले आयोजना निर्माणको गति पनि कम गरेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!