सोलु जलविद्युतको काम ८५ प्रतिशत सकियो

शिखर गजरकोटे
सोलुखुम्बु, भदौ ८

सोलुखोलामा निर्माणाधिन २३.५ मेगावाट सोलु जलविद्युत आयोजनाको ८५ प्रतिशत काम सकिएको छ । सन् २०१४ वाट निर्माण शुरु गरिएको आयोजना ढिलोमा पनि आगामी बैशाख सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

विद्युत विकास विभागको प्रारम्भिक अध्ययन अनुसार सुपर सिक्स मध्येको एक आयोजना सोलु जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । हालसम्म एलपि पाईप विच्छ्याउने, ईन्टेक, हेट अफिस, सर्ज ट्याङक निर्माण, १७० मिटर टनेल विस्तार लगायतको काम सकिएको छ भने पावर हाउसमा इलेक्ट्रो मेकानिकलका काम र हाईप्रेसर पाईप विच्छ्याउने काम भईरहेको आयोजनाका साईट प्रशासन प्रमुख बद्रिमान श्रेष्ठले बताउनुभयो ।

निर्माणाधिन विद्युत आयोजनाको ईन्टेक
फोटो/शिखर

४ अरब ४६ करोडको लगानीमा निर्माणाधिन आयोजनामा ७५ प्रतिशत विभिन्न बैँक र २५ प्रतिशत अपर सोलु हाईड्र ईलेक्टिक कम्पनीको लगानी रहेको छ । लगानी गर्ने बैँकहरुमा लक्ष्मी बैक, एनएमबि, नेपाल ईनभेष्टमेन्ट, एभरेष्ट, एनआईसी, ग्लोबल आईएमई, बैँक अफ काठमाण्डौ, सेन्चुरी कर्मसियल बैँक र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड रहेका छन् ।

आयोजना निर्माणको कामलाई स्थानीयले सकारात्मक रुपमा लिएको आयोजनाले जनाएको छ । साल्मेका स्थानीय राज कुमार प्रधानले आयोजनाले समुदायसंगको समन्वयमा गुणस्तरिय काम भईरहेको बताउनुभयो ।

निर्माणाधिन विद्युत आयोजनाको डिस्यान्डर
फोटो/शिखर

भुकम्प र नाकाबन्दीले निर्माणमा ढिलाई भएको सोलु जलविद्युत आयोजनाको काम आगामी बैशाखमा सकिने भएपनि नेपाल विद्युत प्राधिकरणको सिराहाको मिर्चया देखि सोलुको तिङला सम्म केन्द्रिय प्रसारण लाईन जडानको काममा भईरहेको ढिलाईले विद्युत खेर जाने संभावना बढेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु