सोलुमा फेरि हिमपात

हिमाल एफ.एम.
सोलुखुम्बु, माघ १५

सोलुखुम्बुको तल्लो क्षेत्रमा हिमपात भएको छ । केहि दिन अघि मात्र परेको हिउँ बिल्न नपाउदै मंगलबार पुनः हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्र पिकेडाँडा, सेलगुढी, पत्ताले, सल्लेरी लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

समुन्द्रि सतह देखि २१ सय मिटर उचाईमा रहेको सल्लेरीमा पनि बाक्लो हिउँ परेको छ । ३१ सय मिटरमा रहेको पत्ताले, २९ सय उचाईमा रहेको सेलगुढी र ४१ सय उचाईमा रहेको पिकेडाँडामा बाक्लो हिउँ परेको हो । बालबालिका, किशोरकिशोरी र अधबैँशे महिला पुरुष हिउँ खेल्न बाहिर निस्केका छन् । उनीहरुले हिउँ पर्दै गर्दा र जमेको हिउँमा खेलेर मनोरञ्जन लिएका छन् ।

सल्लेरीमा हिउँमा रमाउदै ब्रिटिश नागरिक

हिमपात भएसंगै तल्लो क्षेत्रका नागरिकमा खुसियाली छाएको छ । चिसो पनि बढेकाले समूह–समूहमा आगो ताप्दै आएका छन् । गत माघ ९ गते परेको हिउँ विल्न नपाउदै सल्लेरी आसपासका डाँडाँमा हिउँ थपिएपछि आन्तरिक पर्यटक हिउँमा रम्न पाउने भएका छन् । समूह–समूहमा जिल्लाबासी, जिल्लामा कार्यरत कर्मचारी र छिमेकी जिल्ला ओखलढुंगाबाट आन्तरिक पर्यटक हिउँ खेल्नका लागि पत्ताले र सेलगुढी डाँडामा पुग्ने गर्दछन् ।

तल्लो क्षेत्रमा हिमपात भएपनि खुम्बु क्षेत्रमा भने दिनभर घाम लागेको छ । मंगलबार सल्लेरी आसपासमा हिमपात हुँदा लुक्ला र नाम्चे क्षेत्रमा मौसम खुल्ला रहेको र घाम लागेको लुक्लाबाट संबाददाता तोया श्रेष्ठले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु