सोलुमा चीज उत्पादन खस्कीयो

राधा ढुंगाना सोलुखुम्बु, २२ भाद्र

सोलुखुम्बुमै उतपादन भएको चीजका लागि सर्बसाधरणहरु निक्कै लालायित छन् । तर यहाँका उत्पादकहरुले बजार माग अनुसार चीज उत्पादन गर्न सकेका छैनन् । चौँरी गाइ हिमाली भेगमा पाइने भएकाले पर्यटकिय जिल्ला सोलुखुम्बु आएका देशिबिदेशी पर्यटकहरुले यहीँ उत्पादन भएको चीज खरिद गर्न इच्छा देखाउँछन् । तर उनीहरुको माग अनुसार पर्याप्त चीज उत्पादन गर्न नसकेको कृषक तथा उद्यमीहरु बताउछन् ।

जिल्लाको गोली गाबिसमा दुग्ध बिकास सस्थानले नै फर्म संचालन गरिरहेको छ । तर दिनप्रतिदिन उस्को उत्पादन पनि खस्कदै गएको छ भने बेनीमा ब्यबसायीहरुले २० बर्ष अघि स्थापना गरेको नुम्बु भ्यु चीज उद्योग पनि निष्क्रिय बन्दै गएको छ । जिल्लाको माथिल्लो क्षेत्र खुम्जुङमा सरकारले २०३० बैशाख ७ गते नै याक बिकास फार्म संचालन गरिरहे पनि चीज उत्पादनको काम अहिले सम्म गर्न सकेको छैन ।
याक ‘गोरु’, नाक ‘गाई’ को संख्या बृद्धी गर्ने र दुग्धजन्य पदार्थहरुको उत्पादन गरि राज्यले फाइदा लिने उद्यश्यले ४३ बर्ष पहिले नै खुम्जुङमा याक फार्मको बिकास गरिए पनि अहिले सम्म याक पाल्नु बाहेक राज्यले अरु कुनै फाइदा लिन नसकेको खुम्जुङका पेम्बा शेर्पाले गुनासो गरे । २ सय ९३ रोपनीमा फैलीएको उक्त याक बिकास फार्मको करिब ५० प्रतिशत मात्रै जग्गा उपयोगमा छ भने बाँकी जग्गा उपयोग बिहिन छ । कुल जग्गा मध्य एक सय ६८ रोपनी जग्गा घाँस उत्पादन र चरण क्षेत्रमा प्रयोग भइरहेको छ भने ५४ रोपनी बुट्यानले ओगटेको याक बिकास फार्मका प्रमुख ललन यादबले जानकारी दिए । अन्य जग्गा पुर्ण उपयोगमा छैन ।

याक र नाकको संख्या समेत घट्दै गइरहेको बेलामा नेपाल–चीन सिमा क्षेत्र नाङपालापास हुदै तिब्बतबाट दुइ बर्ष अघि ५ वटा याक र २५ वटा नाक ल्याए पछि संख्यामा बृद्धी भइ ९५ वटा पुगेको छ । ती नाकले जन्माएका बाछाहरु राख्ने ठाउँ नभएपछि सरकारले यस बर्ष मात्रै ३५ वटा बाच्छाहरु सर्बसाधरणलाइ बिक्री गरेको छ । ६ महिना नपुगेका बाच्छाहरु ३ हजार ५ सय रुपैयाँ प्रतिगोटामा बिक्री गरेको छ भने ६ महिना भन्दा माथि उमेरका याक र नाक ९ हजार रुपैयाँ प्रतिगोटामा बिक्री गरेको यादबले बताए । यसरी बेचिनेमा ६ महिना कम उमेरका याक १२ वटा छन् । तर यत्रो संख्यामा याक र नाक पालिदा समेत चीज उत्पादनमा फार्मले कुनै योजना बनाएको छैन । बरु पाल्नुको दुःखले बिक्री गर्ने गरिएको छ । उक्त याक बिकास फार्मका लागि चालु आर्थिक बर्षमा सरकारले ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।
चीज भन्ने बित्तिकै चौँरी गाइको भन्ने बुझिन्छ तर नाकको चीज अझ उच्च कोटीको हो । जिल्लाको तल्लो भेगमा पाइने चीज भनेको चौरी गाइको दुधबाट बनेको हो । माथिल्लो भेगमा पाइने चीज भने नाकको दुधबाट बनाइने परिकार हो । जुन चौरी गाइको भन्दा निक्कै स्वादिलो हुने गर्दछ । तर नाम्चे, खुम्जुङमा किसानले ब्यक्तिगत रुपमा पालेका नाकबाट निजि प्रयोजनका लागि बनाइने चीज बाहेक ब्यबसायीक चीज उत्पादनमा कसैको ध्यान गएको छैन । याक बिकास फार्मका प्रमुख यादबले भने याक र नाकको संख्या धेरै भएपनि हिमाली भेगमा बाँच्ने यी जनावरले चौँरी गाइले जस्तो पर्याप्त दुध नदिने र चीज बनाउन पर्याप्त नहुने भएकाले चीज उत्पादनलाइ सुरु नगरिएको बताए । केही बर्ष पहिले चीज उत्पादनका लागि प्रबिधि समेत भित्र्याए पनि उत्पादन सुरु गर्न नसकिएपछि पुन पशु उत्पादन निर्देशनालयमै फिर्ता पठाइएको थियो ।

खुम्बुका याक र नाक न्यानो बढेपछि ४ हजार मिटर भन्दा माथि उचाइमा रहेको खर्कमा चरणका लागि पठाइन्छ भने जाडो सुरु भएपछि पुन फार्ममा ल्याइने गरेको छ । परिवारले पालेको याकहरु पनि यसरी नै बसाइ सार्ने गरिन्छ । बर्षातको मौसम साउन र भदौमा घाँस राम्रो हुने भएकाले त्यस समयमा दुध राम्रो हुने भएपनि अन्य समयमा सुख्खा हुदा दुध उत्पादन घट्ने र चीज बनाउन नसकिने नाक पालकहरुको भनाइ छ । सरकारले नै संचालन गरेको फार्मबाट समेत चीज उत्पादनको क्रियाकलाप नहुँदा सर्बसाधरणले सोलुखुम्बुबाट असली चीज भने उपभोग गर्न पाएका छैनन् । बिशेष गरि चीजका पारखी शहरी बस्तीमा बस्ने सर्बसाधरण र खुम्बु भ्रमेण गर्न आउने बिदेशी पर्यटकहरु छन् । यस्तो चीज प्रतिकेजी २ हजार रुपैयाँ सम्म पर्छ । चीज उत्पादनलाइ नै बिशेष ग्राह्यता दिन सके यसबाट मनग्य आम्दानी लिन सकिन्छ । र सोलुखुम्बुको चिनारीको रुपमा चीज स्थापित हुन सक्छ ।

सोलुखुम्बुको तल्लो क्षेत्रमा चौँरी गाइहरु पर्याप्त मात्रामा छन् । चौँरी गाइको दुधबाट चीज र छुर्पी उत्पादन गरिदै आएको छ । तर अत्यन्तै सिमित परिमाणमा । तल्लो सोलुको बेनी, चौलाखर्क, गोली, भकान्जे, जुभीङ, टाक्सिन्दु र सदरमुकामकै नजिक पनि चौरीगाइहरु प्रशस्तै छन् । चौँरी गाइ पालनका लागि सरकारले खुम्जुङमा जस्तो फार्म नै संचालन नगरे पनि यस भेगका किसानले पहिले देखि नै चौँरी गाइ पाल्दै आएका छन् । तर उनीहरुको घरबाट उत्पादन भएको दुधलाइ संकलन गर्ने र प्रशोधन गर्ने काम नहुँदा ती दुधलाइ घिउ र मही बनाएरै सकिने गरेको किसानहरुको भनाइ छ ।

टाक्सिन्दुको रिङमुमा २० बर्ष देखि संचालनमा रहेको नुम्बुर भ्यु चीज उद्योग पनि फस्टाउन सकेको छैन । उस्ले बार्षिक १२ सय किलोग्राम सम्म चीज उत्पादन भइरहेको जनाएको छ । चीज उद्योगका प्रोप्राइटर फु ग्याल्जेन शेर्पाले चीजबाट राम्रो आम्दानी हुने भए पनि मेहेनत धेरै पर्ने भएकाले अरु ब्यक्ति उत्सुक्ताका साथ लागि नपरेको बताए । उनले भने, ‘एकदुइ वटा चौरी पालेर चीज बन्दैन, धेरै पाल्नु पर्याे, धेरै पाल्न गाउँमा मान्छे छैन, भएका मान्छेले पनि गाइको पालनपोषणमा अल्छी गर्न थालेका छन् ।’ शेर्पाले चीज उत्पादनकै लागि अहिले करिब ४० वटा चौरी गाइहरु पालेका छन् । एउटा गाइले दिनमा दुइ लिटर सम्म दुध दिन्छ । एक केजी चिज उत्पादनका लागि १० लिटर दुध खपत हुने शेर्पाको भनाइ छ । उक्त उद्योगले प्रतिकेजी १२ सय रुपैयाँमा चीज बिक्री गर्दै आएका छन् । त्यहाँ उत्पादन भएको सिमित चीज खुल्ला बजारमा आउनै नपाइ उद्योगबाटै खरिद हुने गरेको शेर्पाको भनाइ छ ।

गाउँमा चौरीगाइ सयौँ भएपनि कृषकले दुध नै पिउने, मही पार्न, नौनी घियु चियामा प्रयोग गर्न र गुम्बामा पुजा गर्न ठुलो परिमाणमा चढाउने भएकाले माग अनुसार चीज उत्पादन गर्न कठिनाइ भएको फुग्याल्जेन शेर्पाले जानकारी दिए । चीजका लागि दुध खपत गर्नु भन्दा अन्यत्रै प्रयोग गर्न कृषकहरु इच्छुक देखिएका छन् ।

यस्तै काठमाडौँको दुग्ध बिकास सस्थान लैनचौरले बि स २०१३ सालमै सोलुखुम्बुको गोली गाबिसको ङउरमा चीज उत्पादन केन्द्र पिके स्थापना गरेको थियो । हाल सम्म उक्त उद्योग संचालनमा रहे पनि सस्थानले घाटा बेहोरेर काम गरिरहेको छ । पुरानो सस्था जोगाउनकै लागि १० बर्ष देखि घाटामा रहेपनि संचालन गरिरहेको चीज उत्पादन केन्द्र पिकेका इन्चार्ज कर्णबहादुर जिरेलले जानकारी दिए ।

कुनै समय बार्षिक १२ हजार केजि सम्म चीज उत्पादन गरेको उक्त सस्थानले अहिले बाषिर्क १ हजार केजीमा आफ्नो उत्पादनलाइ सिमित बनाउनु परेको छ । कृषकहरुबाट दुध नपाएकै कारण उत्पादन खुम्च्याउनु परेको जिरेलले बताए । हाल दुध उत्पादन हुने मौसममा दैनिक १ सय ५० लिटर सम्म दुध संकलन हुने गरेको छ । ७१ सलमा २ हजार ५ सय केजी चीज उत्पादन भए पनि यस बर्ष एक हजार केजी मै चित्त बुझाउनु परेको उनको भनाइ छ । यहाँ उत्पादन भएको सबै चीज र बटर लैनचौर स्थीत दुग्ध बिकास सस्थानमा लैजाने गरेको छ । निक्कै घाटामा जान थाले पछि गत मंसिर देखि चीजको मुल्यमा प्रतिकेजी ३ सय रुपैयाँले बृद्धी गरि १४ सय रुपैयाँ पुयाइएको छ । उद्योगको उत्पादनले त्यहाँ कार्यरत ३ जना कर्मचारीको तलब पनि धान्न सकेको छैन । गाउँमा कृषकले चौरी गाइ पाल्न छाड्नु र दुधको उचित मुल्य नपाउनुले किसानहरुले घरमै उपभोग गर्न थाल्नु नै यसको प्रमुख कारक रहेको जिरेलको भनाइ छ । उद्योग नजिकै भञ्ज्याङमा होटल चलाउदै आएका आङफुरी शेर्पाले डिडिसिले ङउरमा उत्पादन गरेको चीज गुणस्तरिय हुने भएपनि हरेक बर्ष उत्पादनमा कमी आउदै गएको र ब्यबस्थापन पनि खस्कीदै गएको बताए ।

याक बिकास फर्ममा चीज उत्पादनमा ध्यान नै नदिइनु, डिडिसिले संचालन गरेको चीज उत्पादन उद्योग पनि गिर्दै जानु र निजि क्षेत्रबाट संचालनमा रहेको उद्योग पनि दुधकै अभाबमा उत्पादनलाइ सिमित बनाइनुले माग भएर पनि चीजले बजार पाउन सकेको छैन । बरु यहाँको बजार धान्न बाहिरी जिल्लाबाट चीज ल्याएर बिक्री गर्नु पर्ने बाध्यता ब्यापारीहरुमा छ । कतिपय ब्यबसायीहरुले त अन्य जिल्लाबाट ल्याइएको कञ्चन नामको चीजलाइ सोलुको चीज भनी बिक्रि समेत गर्ने गरेको जानकारहरु बताउछन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु