सोलुमा इजाजत विनै मदिराको व्यापार

शिखर गजरकोटे
सोलुखुम्बु, ९ असोज

सोलुखुम्बुको सदरमुकामका अधिकांश व्यापारीहरुले ईजाजत विना मदिरा बेच्दै आएको पाईन्छ । जिल्ला प्रशासन कार्यालयले गएको असोज २ र ४ गते गरेको बजार अनुगमनको क्रममा १७ जना व्यापारीले मदिरा विक्रिका लागि ईजाजत नलिएको पहिचान भएको हो ।

त्यस्तै, नविकरण नगरिएको दुई वटा होटल फेला परेका छन् । उनीहरुलाई १५ दिन भित्र इजाजत तथा नविकरण गर्न सुझाव दिएको सार्वजनिक रिर्पोटमा उल्लेख गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी तुक्ति शेर्पाको अगुवाईमा भएको अनुगमनमा उपभोग मिति सकिएका केहि परिमाणमा खाद्य सामाग्री भेटिएको र सम्बन्धित डिलरमा फिर्ता गर्न भनिएको प्रशासनले जनाएको छ ।

यद्यपी, म्याद सकिएको सामाग्री बरामद गर्ने काम नगरिएको भन्दै सरोकारवालाले अनुगमन फितलो भएको बताएका छन् । तर प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले मासिक रुपमा सदरमुकाममा अनुगमन गर्ने र आगामी दिनमा कडाईको साथमा म्याद गुज्रिएका सामाग्री विक्रि गर्ने, कालोबजारी गर्ने र दर्ता तथा ईजाजत विना व्यवसाय संचालन गर्ने व्यवसायीलाई कानुनको दायरामा ल्याउने प्रतिवद्धता गर्नुभएको छ ।

फाप्लु देखि दोर्पुबजार सम्म ८२ वटा होटल, पसल तथा सप्लार्यसमा अनुगमन गरिएको थियो । मदिरा व्यापार अनुमति कोष तथा लेखा नियन्त्रण कार्यालयले दिदै आएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु