सोलुदुधकुण्ड : सुन्दरताको लागि धुपी रोपण

सोलुखुम्बु, साउन ३१


दशक अघि देखि सल्लेरीका खोलाखोल्सी लगायतका स्थानमा थुप्रिएका सिसाजन्य र अन्य फोहोर व्यवस्थापनमा सफल देखिएको सोलुदुधकुण्ड नगरपालिकाले सिसा र प्लाष्टिक आयात र प्रयोगमा रोक लगाइसकेको छ । सल्लेरी आसपासका नागरिकलाई टोलसुधार समिति मार्फत गमला वितरण गरेको नगरपालिकाले सुन्दरताको लागि धुपी लगायतका विरुवा वितरण थालेको छ ।


सोलुदुधकुण्ड नगरपालिकामा जनप्रतिनिधिको नेतृत्व शुरु भएपछि सल्लेरीको सरसफाईमा उलेख्य प्रगतीभएको छ । उद्यपी, अझै केही काम गर्न बाँकी नै छ । ग्रिन एण्ड क्लिन नगरको परिकल्पना सहित अघि बढेको नगरपालिकाले अहिले करिब ४ सय धुपी लगायतका विरुवा वितरण गरिरहेको छ । सडक छेउछाउमा धुपी, मयुरपंक्षि र कटुसका विरुवा ३ लाख ८० हजारको लागतमा खरिद गरि टोल सुधार समिति मार्फत रोपण थालिएको छ । नगरपालिकाकी सरसफाई अधिकृत मुना खत्री श्रेष्ठ नगरको सुन्दरताको लागि धुपी लगायतका विरुवा वितरण गरिएको बताउछिन् ।


साल्मेदेखि बसपार्क सम्मको मुख्य सडक क्षेत्रमा टोल सुधार समितिमार्फत विरुवा रोप्न सुरु गरिएपनि फाप्लु, पत्ताले, तिंला क्षेत्रका मुख्य सडक छेउछाउमा पनि विरुवा रोप्ने नगरपालिकाको तयारी छ । ग्रिन एण्ड क्लिन नगरको परिकल्पना साकार पार्नका लागि विरुवा वितरणको काम सरसफाई र सुन्दरतासंगै जोडिएको मेयर नाम्गेल जाङबु शेर्पा बताए ।


नगरपालिकाबाट धुपी, मयुरपंक्षि र कटुसका विरुवा निशुल्क पाएपछि नगरबासी पनि उत्साहित छन् । यसअघि नगरपालिकाले वितरण गरेको गमलामा अहिले धेरैको घर वरिपरी फूल हुर्किरहेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!