हिमाल एफ.एम.
सोलुखुम्बु, माघ १७
रोटरी क्लब दरबारमार्ग काठमाण्डौले सोलुदुधकुण्ड नगरपालिकालाई विपत व्यवस्थापनका विविधि सामाग्री हस्तान्तरण गरेको छ । मंगलबार रोटेरियल ब्रिटिश ग्रुपको सहयोगमा प्राप्त आगोलागीका बेला प्रयोग गरिने दर्जनौ सामाग्री मेयर नाम्गेलजाङबु शेर्पालाई हस्तान्तरण गरिएको हो ।

आगोलागी नियन्त्रणका लागि प्रयोगमा ल्याईने अस्थायी ट्याङकी, दमकल नपुग्ने स्थानमा पनि लगेर आगो नियन्त्रणमा प्रयोग गर्न सकिने जेनेरेटर, दमकल पाईप, उद्धारका लागि आवश्यक स्टेचर, विपत्मा प्रयोग गर्न सकिने सुविधासम्पन्न टेन्ट, अग्नि नियन्त्रकले प्रयोग गर्ने क्याप, ज्याकेट, बुट, आगो नियन्त्रणका लागि आवश्यक अन्य सामाग्रीको साथमा विपत्मा परेका नागरिकका लागि प्रयोग गर्न मिल्ने सामाग्री ब्रिटिश ग्रुपले नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

सामाग्री ग्रहण गर्दै मेयर नाम्गेलजाङबु शेर्पाले आगोलागीको घटना प्रति नगरपालिका संबेदनशील रहेको बताए । उनले भने, ‘नगरसंग भएको सामाग्री र सहयोग प्राप्त सामाग्रीलाई उचित संरक्षण र प्रयोगमा ध्यान दिनेछौ ।’ सामाग्री संगै दक्ष जनशक्ति परिचालन गर्ने सन्दर्भमा पनि नगरपालिका चनाखो रहेको मेयर शेर्पाको भनाई छ ।

रोटरी क्लब दरबारमार्गका निर्वतमान अध्यक्ष सनारसिंह कार्कीले सल्लेरी क्षेत्रमा सल्लोको काठबाट बनेको घर बढि रहेको र आगोलागीको जोखिम पनि उत्तिकै रहेकाले नगरपालिकालाई सामाग्री सहयोगको निधो गरेको बताए । कार्कीले भने, ‘बजार क्षेत्रमा काठबाट निर्मित घरहरु लस्करै रहेकाले पनि अग्नि नियन्त्रणमा चनाखो आवश्यक रहेको छ । यहि जोखिमलाई मध्येनजर गर्दै सहयोगको वातावरण तयार पारेका हौ ।’ नगरपालिका क्षेत्रमा ठूला दमकल जान नसक्ने भएकाले सानो दमकल सहयोग गर्ने गरि प्रक्रिया अघि बढेको कार्कीको भनाई छ ।
