सोलुखुम्बु : ह्यूमपाईपले जोडियो फुलेली र जुभिङ, खुम्बु आउन जान सजिलो

सोलुखुम्बु – सोलुदूधकुण्ड नगरपालिका–१ फुलेली र माप्यदूधकोशी गाउँपालिका–१ जुभिङ जोड्ने गरि दूधकोशी नदीमा ह्यूमपाईप विच्छ्याएपछि खुम्बुसँग सिधा यातायात सञ्चालनमा आएको छ ।
सोमबार संयुक्त उद्घाटन गर्दै मेयर नाम्गेल जाङ्बु शेर्पा र काँग्रेस सोलुखुम्बुका पूर्व सभापति आङगेलु शेर्पाले नगरबासीको विकासमा कुनै कसर बाँकी नराख्ने बताए । जनताको आवश्यकताको आधारमा विकासका काम अघि बढेको नेता शेर्पाको भनाई छ । अस्थायी रुपमा यातायात संचालनमा आएकाले भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्षयलाई सहयोगसिद्ध हुने मेयर शेर्पाले बताए ।

ह्यूमपाईप विच्छ्याईएसंगै जिल्लाको सबै भन्दा धेरै पर्यटक आउने खुम्बुपासाङल्हमू गाउँपालिकाको खरिखोलासम्म यातायात सञ्चालनमा आएको सोलुदूधकुण्ड नगरपालिका–१ का अध्यक्ष छोङ्बा लामाले बताए । नगरपालिकाको साँढे १३ लाख बजेटमा आठ वटा ह्यूमपाईप विच्छ्याएपछि हिमाली पर्यटनको केन्द्र खुम्बु जान सडक यातायातबाट सहज भएको हो ।

फोटो – तिलक राना मगर


सल्लेरीसम्म गुडेर आउने वातावरण बनेपछि जुभिङ र खरिखोलाका स्थानीय खुशी भएका छन् । खरिखोलाका तिलक राना मगरले अस्थायी रुपमा भएपनि सिधा यातायात संचालनमा आएपछि सहज भएको बताए ।

खुम्बु सडक सञ्जालमा जोडिएपछि स्थानीयका साथै सडक मार्गबाट आउने पर्यटक बढ्ने र तल्लो सोलुको पर्यटनमा समेत टेवा पुग्ने आशा राखिएको छ । अब पैदल हिडेर नुनथलासम्म आएर गाडी चढ्नुपर्ने बाध्यताका अन्त्य समेत भएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु