सोलुखुम्बु : नेचासल्यानका कृषि सहकारी, समुह र फार्मलाई १ लाख ४५ हजार अनुदान

धनकुमार ढुंगेल,
सोलुखुम्बु (नेचा ) साउन ८


कृषिलाई आर्थिक उपार्जनको माध्यम बनाउनका लागि सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका कृषि सहकारी, कृषक समुह तथा फार्मलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई अदुवा बेसार जोनले प्रोत्साहन स्वरुप १ लाख ४५ हजार ५ सय अनुदानप्रदान गरेको छ ।

परियोजना कार्यान्वयन ईकाई अदुवा बेसार जोनले नेचासल्यान गाउँपालिका भित्रका २ कृषि सहकारीलाई २१ हजार २४० का दरले, ३ वटा फलफुल तथा तरकारी फार्मलाई ४ हजारका दरले र १३ वटा कृषक समुहलाई ७ हजारका दरले गरि १ लाख ४५ हजार ५ सय रुपैयाँ अनुदान वितरण गरेको हो ।

व्यवसायिक कृषिलाई प्रोत्साहन गर्नका लागि अदुवा बेसार जोनमा सुचिकृत भएका कृषि सहकारी, कृषक समुह र फार्मलाई बुधबार गाउँपालिका अध्यक्ष डुृफकुमार बास्तोलाले हस्तान्तरण गरे ।

अध्यक्ष बास्तोलाले कृषक लाभान्वित हुने खालका कार्यक्रमलाई गाउँपालिकाले पनि जोड दिएको बताउँदै उत्पादन भएका कृषि उपजको बजारीकरणमा गाउँपालिकाले सहयोग गर्ने बताए । अदुवा बेसार जोन सञ्चालन समिति नेचासल्यानका संयोजक लोचन कुमार शर्माले अनुदानलाई उत्पादनशिल कर्ममा लगाउनका लागि आग्रह गरे ।

अदुवा बेसार खेतीका लागि अनुदान पाएपछि कृषकहरु खुसी भएका छन् । श्रीकृष्ण कृषक समुहका अध्यक्ष युवराज कटेल अदुवा बेसार र खोर्सानी उत्पादनमा अनुदानले थप थप हौसला मिलेको बताए । नेचासल्यान गाउँपालिका ३ मा रहेको लालिगुराँस कृषक महिला समुहकी अध्यक्ष यानु राइले अदुवा बेसार खेतिलाई बढवा दिनका लागि उक्त रकम खर्च गर्ने बताईन् ।

प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई अदुवा बेसार जोनले कृषिलाई आधुनिकिकरण गर्नका लागि नेचासल्यान गाउँपालिकामा अदुवा बेसारको बिउका लागि अनुदान, २० वटा भकारो सुधार कार्यक्रम र मिनिट्रिलर वितरण गरिसकेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!