सोलुखुम्बु : थुलुङ दुधकोशीका विद्यालय असोज ४ देखि खुल्ने

सोलुखुम्बु, भदौ ३१


सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले नियमित विद्यालय संचालन गर्ने भएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि गत चैत्र देखि बन्द रहेको विद्यालय यहि असोज ४ देखि नियमित रुपमा संचालन गर्ने तयारीमा गाउँपालिका देखिएको हो । बुधबार बसेको गाउँ शिक्षा समितिको वैठकले आवश्यक सुरक्षा विधि अपनाएर पठनपाठन सचालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।


‘कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी र सावधानीका साथ पठनपाठन संचालन गर्ने निष्कर्षमा पुगेका छौ ।’ गाउँपालिका अध्यक्ष राईले भने, ‘कोरोना जोखिमले विद्यार्थीको शिक्षामा निकै ठूलो प्रभाव पारेको महसुस गरेका छौ । त्यसकारण, नियमित विद्यालय संचालनको निचोडमा पुगेका हौँ ।’ मूलुकमा कोरोना संक्रमण बाक्लिएपछि गत साउन २२ देखि विद्यालय संचालनको तयारी स्थगीत गरिएको थियो ।


डेढ महिना देखि विद्यालय संचालनको तयारी रहेकाले आवश्यक सावधानीको कमी नहुने अध्यक्ष राईको भनाई छ । ‘विद्यालय प्रशासनले बनाएको पठनपाठन योजना वडा शिक्षा समितिमा पुग्नेछ । वडा शिक्षा समितिले विद्यालयबाट आएको योजनालाई अध्ययन गरि आवश्यकता अनुसार थपघट गर्न सक्नेछ । त्यसपछि सो योजना स्थानीय सरकारलाई प्राप्त हुनेछ ।’ उनले भने, ‘योजना निर्माणमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ समेत सहभागी बन्ने भएकाले सम्पुर्ण सरोकारवालासंग समन्वय र छलफलपछि पठनपाठन थाल्ने तयारीमा लागेका हौँ ।’


विद्यालयका प्रध्यानाध्यापक सहितको वैठकले विद्यालयमा खानेपानी, शौचालय, सरसफाई स्थल लगायतको सम्पुर्ण तयारी गरेर विद्यालय संचालन गर्ने गाउँपालिकाले जनाएको छ । कम संख्यामा विद्यार्थी भएका विद्यालयमा पठनपाठन सहज हुने र विद्यार्थी संख्या धेरै भएका विद्यालयको हकमा जोर–विजोर पढाइ पनि हुन सक्नेछन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!