सोलुखुम्बु : चार पटक म्याद थपेर खहरे खोलामा मोटरेबल पुल

दिपेन्द्र पराजुली,
सोलुखुम्वु, असार २९


सोलुखुम्बुको नेचा र सल्यान जोड्ने खहरे खोलामा मोटरेबल पुल संचालनमा आएको छ । २०७४ सालको असारमा सम्झौता भई सोही बर्षको पुस महिनाबाट काम शुरु गरेको मोटरेबल पूल चार पटक म्याद थप गरेर सम्पन्न गरिएको छ ।


४ करोड ६६ लाख १९ हजार ४२५ रुपैयामा पुल निर्माणको जिम्मा लिएको एडी बिल्डर्सले ४ करोड ६४ लाख ९३ हजार मा ४० मिटर लम्बाई र साढे ५ मिटर चौडाईको पुल निर्माण गरेको कम्पनीका प्रतिनिधि रिञ्जि शेर्पाले बताए । कम्पनीले २०७५ सालको असार मसान्तमा सम्पन्न गर्नुपर्ने पुल नसकेपछि २०७६ असारसम्म पहिलो पटक म्याद थपिएको थियो ।


सो मितिमा पनि काम नसकिएपछि दोस्रो पटक ६ महिना पुल निर्माणको म्याद थपियो । २०७६ मंसिरसम्म पुल निर्माण सक्ने म्याद पाएको कम्पनीले तोकिएको समयमा काम नसकेपछि जनप्रतिनिधि तथा प्राविधिकको टोलीले स्थलगत निरिक्षण गरि चैत्र मसान्तसम्म काम सक्न निर्देशन दिएको थियो । तर कोरोना कहरका कारण काम प्रभावित भएको भन्दै २०७७ असार सम्म पुनः ३ महिना म्याद थप गरि पुल सम्पन्न गरिएको छ ।


त्यस्तै, सल्यानको ठाडो खोलामा पनि एडि विल्र्डसले पुल निर्माण गरिरहेको छ । २०७४ सालबाटै निर्माण थालेको मोटरेबल पुलको काम अन्तिम चरमा पुगेको छ । रेलिङ र पुलको साईडमा प्लाष्टरको काम बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ ।


३ करोड ५८ लाखको लागतमा उक्त पुल निर्माण भइरहेको यो पुलको पनि चौथो पटक थपिएको म्याद असार मसान्तमा सकिदैछ । खहरे र ठाडेखोलामा मोटरेबल पुल संचालनमा आए नेचासल्यानका नागरिकलाई बाह्रै महिना आवतजावतमा सहज हुनेछ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!