सोलुखुम्बुमा सम्बन्ध बिच्छेदका घटना बढ्दो

हिमाल एफ.एम.
सोलुखुम्बु, मंसिर २०

पछिल्लो समय सोलुखुम्बुमा सम्बन्ध बिच्छेदको घटना बढेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक बर्ष २०७४/०७५ मा १९ वटा घटना दर्ता भएकोमा चालु आर्थिक बर्षको पहिलो चौमासिककै १८ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भईसकेको जिल्ला अदालतको तथ्यांकले देखाएको छ । नयाँ मुलुकी संहिताका कारण पनि सम्बन्ध विच्छेदका मुद्धा बढेको अदालतले जनाएको छ ।

अदालतमा दर्ता भएका १८ मुद्धामध्ये ६ वटा पुरुषले दर्ता गराएका छन् भने १२ वटा मुद्धा महिलाको नामवाट दर्ता भएको जिल्ला अदालतका नायब सुब्बा भगिश्वर रसाईलीले जानकारी दिए । ‘पुरुषले दर्ता गराएको कुनैपनि मुद्धाको फैसला गरिएको छैन् ।’ उनले भने, ‘महिलाले दर्ता गराएको ६ मुद्धाको फैसला भैसकेको र ६ मुद्धाको फैसला प्रक्रिया जारी रहेको छ ।’ नयाँ संहितामा पुरुषले पनि सजिलै सम्बन्ध विच्छेदको व्यवस्था गराएकाले पनि मुद्धाको संख्यामा बृद्धि आएको हुनसक्ने उनले बताए ।

अदालतमा आउने मुद्धामा सुरुमा मेलमिलाप गर्न कोशिस गर्ने र मेलमिलाप सम्भव नभए सम्बन्ध बिच्छेद गर्नुपर्ने व्यबस्था छ । श्रीमान बैदेशिक रोजगारीमा रहँदा श्रीमती परपुरुष सँग सम्बन्ध राखेको थाहा पाएर पुरुषहरुले सम्बन्ध बिच्छेद गर्न चाहने र महिलाको हकमा श्रीमानको दुव्र्यबहार, व्यबहारिक समस्या र आपसी झै–झगडा मुख्य कारण रहेको अदालतले जनाएको छ ।

दर्ता भएका सम्बन्ध बिच्छेदको मुद्धा १ बर्ष भित्रमा फैसला गरिसक्नुपर्ने कानुनी व्यबस्था छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!