सोलुखुम्बुमा प्रतिनिधि सभा निर्वाचनमा विजयी ‘सुरबीर’ को हुन् ?

हेम कुमार राई (सुरबीर) माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्जसमेत रहेका राई जिल्लाको सशक्त नेताको रुपमा परिचित छन् । राईको जन्म विसं २०४० साल पुस १५ गते नेचासल्यान गाउँपालिका वडा नं. ४ मा बुवा नरध्वज राई र आमा स्व. मुगाधनी राईको कोखबाट भएको हो । स्थानीय केदार माविमा कक्षा नौसम्म अध्ययन गर्दै गर्दा २०५६ सालमा माओवादी पार्टीमा आवद्ध भएका उनले त्यसयता सर्वहारा जनताको मुक्ति र देशको रुपान्तरणको अभियान आफुलाई उभ्याइरहेका छन् । पार्टीमा होलटाइमर भएदेखि नै जनमुक्ति सेनाको रुपमा जोडिएका उनले २०५७ साल असारमा ११ सदस्यीय गुरिल्ला स्क्वायर्डमध्ये एक सदस्यको रुपमा जिम्मेवारी सम्हाले । त्यहि सालको मंसिरमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र रामेछापको १५ गाविस जोडेर बनाइएको जिल्ला प्लाटुन सदस्य, २०५८ सालमा पूर्वाञ्चल एक नम्बर कम्पनी प्लाटुन सेक्सन भिसी हुँदै सेक्सन कमाण्डर र प्लाटुन भिसी भए ।

२०५९ सालमा बेथान स्मृति पाँचौं ब्रिगेट कम्पनी सहायक कमाण्डर भएका उनी २०६० सालमा सोही कम्पनीको कम्पनी कमाण्डर भए भने २०६१ सालमा १४औं बटालियन भिसी हुँदै बटालियन कमाण्डरको जिम्मेवारी सम्हाले । आफ्नो अविचलित मिहेनत, लगनशिलता र इमान्दारिताले पार्टीमा निरन्तर पदोन्नत्ति हुँदै आएका उनी २०६२ सालमा सोलुसल्लेरी स्मृति ब्रिगेट भिसी, २०६५ सालमा ब्रिगेट कमाण्डर भएर जनमुक्ति सेनाभित्रको महत्वपूर्ण पदीय हैसियत कायम गर्न सफल भए । यसबीचमा सानो ठूलो गरेर पाँच दर्जनभन्दा बढि प्रत्यक्ष लडाई लडेका राई चार पटक घाइते भएका थिए । २०५८ मा चैनपुर सशत्र बेसक्याम्प आक्रमणको क्रममा पहिलो पटक घाइते भएका उनी २०६९ साल कात्तिकमा रुमजाटार युनिफाइट बेसक्याम्प आक्रमणमा एसल्ट कमाण्डर भएर लड्दैगर्दा गम्भिर घाइते भए । त्यसपछि २०६० सालमा खोटाङ ऐसेलुखर्क भिडन्तमा पुन घाइते भएका उनी बारा जिल्लाको जंगलमा पनि घाइते भएका थिए ।

देश र जनताको मुहार फेर्नका लागि भूमिका खेल्ने तीब्र चाहानाका साथ अघि बढेका उनले जागिर खानुभन्दा जनताकै घरदैलोमा गएर सेवा गर्छु भन्ने संकल्पका साथ सेना समायोजनपछि स्वेच्छिक अवकास लिए । र अब सुरु भयो उनको पार्टी राजनीतिक यात्रा । २०७० सालसम्म आइपुग्दा उनलाई पार्टीले सोलुखुम्बु जिल्लाको संयोजकको जिम्मेवारी दियो । त्यसपछि बीचमा उपचारका लागि केही समय घरमै बसेका उनी २०७३ सालमा जिल्ला इन्चार्जसँगै पछि पार्टीको पोलिटव्यूरो सदस्य भएर क्रियाशिल राजनीति गरिरहेका छन् । निश्चित मुल्य र मान्यताको परिधिमा रहेर राजनीति गर्नुपर्ने धारणा उनको छ ।


स्रोत – शिखर पोष्ट

Comments

comments

सम्बन्धित शीर्षकहरु