सोलुखुम्बुमा पनि अनलाईनवाट व्यक्तिगत घटना दर्ता शुरु

शिखर गजरकोटे
सोलुखुम्बु, भदौ ५

सोलुदुधकुण्ड नगरपालिका ६ ले अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता शुरु गरेको छ ।

मंगलबार प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदीले सन्दिप शाक्यको जन्मदर्ता अनलाईन प्रमाणपत्र हस्तान्तरण गरेर घटना दर्ता शुरु गर्नुभएको हो । अधिकृत सुवेदीले ईन्टरनेट जडान कार्य जारी रहेकाले क्रमश ११ वटै वडामा अनलाईनवाट व्यक्तिगत घटना दर्ता शुरु गर्ने बताउनुभयो । भदौ १ गते नै घटना दर्ता कार्यको शुभारम्भ गर्ने भनिएपनि विविध कारणले ५ दिन पछि घकेलिएको उहाँले बताउनुभयो ।

सेवाग्राहीलाई प्रमाणपत्र प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदी
फोटो/शिखर

कार्यक्रममा वडा अध्यक्ष राम कुमार श्रेष्ठले ईन्टरनेट दिगो नहुदा कहिलेकाँही सेवाग्राहीले घण्टौ पर्खनुपर्ने अवस्था आउन सक्ने चुनौति दर्शाउदै ईन्टरनेट सुविधा भएको बेला केहि समयमै व्यक्तिगत घटना दर्ता गरि दर्ताको प्रमाणपत्र सर्वसाधारणलाई उपलब्ध गराउन सक्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति सोलुखुम्बुका सदस्य डाडोमा शेर्पाले नागरिकले व्यक्तिगत विवरण पन्जिकरण विभागको बेवसाईटमा गएर आँफैले पनि भर्न सक्ने र वडा कार्यालयवाट प्रमाणीकरणको प्रमाणपत्र सजिलै लिन सक्ने भएकाले पहिलेजस्तो झन्जट नहुने बताउनुभयो ।

नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत तथा सूचना अधिकारी दापासा शेर्पाले अनलाईन घटना दर्ताको कामलाई प्रभावकारी बनाउन ईन्टरनेटलाई दिगो व्यवस्थापनको काम भईरहेको जानकारी दिनुभयो ।

यो प्रणालीवाट जन्म, मृत्यू, बसाईसराई, विवाह र सम्बन्ध विच्छेदका घटना सजिलै गर्न सकिन्छ भने दर्ता प्रमाण्पत्र हराएकोमा पनि परिचय पत्र नंम्बरको आधारमा प्रतिलिपिको लागि समेत छरितो हुने व्यवस्था मिलाईएको छ । सेवाग्राहीले पनि अनलाईन प्रणालीवाट घटना दर्तामा सहज भएको प्रतिक्रिया दिएका छन् ।

यो प्रणाली जिल्लामै पहिलो पटक हो भने मुलुकभर ८५ औ वडाको रुपमा सुचीकृत भएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु