सोलुखुम्बुमा नयाँ शैक्षिक कार्यक्रम “माध्यमिक शिक्षा सुधार परियोजना” शुरु

हिमाल एफ एम, ६ असोज ।

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) ले सोलुखुम्बुमा नयाँ परियोजना शुरु गरेको छ । विगत लामो समयदेखि सोलुखुम्बुमा गुणस्तरीय शिक्षाका लागि काम गरिरहेको रिड नेपालले “माध्यमिक शिक्षा सुधार परियोजना” शुरु गरेको हो ।

रिड नेपालले हालका लागि सोलुखुम्बुका सात माध्यमिक विद्यालयमा यो परियोजना शुरु गरेको परियोजनाका शिक्षा विकास संयोजक तोया प्रसाद अम्मैले जानकारी दिए । परियोजनाले विद्यालयको सुशासन र व्यवस्थापनमा सघाउ पु¥याउँदै विद्यालयलाई नमूना विद्यालयका रुपमा अघि बढाउने लक्ष्य लिएको उनले बताए ।

परियोजना अन्तरगत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अविभावक संघका पदाधिकारी र विद्यालयका प्रधानाध्यापकहरुलाई प्रभाबकारी विद्यालय व्यवस्थापन र सुशासनका बिषयमा तालिम, शिक्षकहरुको मुल्यांकन, विद्यालय पुस्ताकालयको व्यवस्थापन तथा सहयोगका साथमा विद्यालयको योजना, अनुगमन र मुल्यांकन प्रक्रिया स्थापित गर्न सहयोग पुग्ने कार्यक्रमहरु सञ्चालन गरिनेछन् ।

परियोजना अन्तरगत माध्यमिक तहका विद्यार्थीका अबिभावक र विद्यार्थीलाई परामर्श उपलब्ध गराइनुका साथै अबिभावकहरुवाट दैनिक रुपमा विद्यालय अनुगमनका लागि उत्प्रेरित गर्नेछ ।

परियोजना लागू भएका सातै विद्यालयमा अबिभावकहरुको सम्लग्नतामा दैनिक सहयोग तथा अनुगमन समिति गठन गरिसकिएको रिड नेपालले जनाएको छ । समितिका सदस्यहरुले दशै तिहार पछि दैनिक रुपमा विद्यालयको अनुगमन गर्नेछन् । अनुगमन गरी विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गर्न सल्लाह सुझाब उपलब्ध गराउनेदेखि अन्य आवश्यकीय सहयोग समेत अबिभावकहरुले गर्नेछन् ।

हिमालयन ट्रष्ट न्यूजिल्याण्डको आर्थिक सहयोगमा शुरु भएको माध्यमिक शिक्षा सुधार परियोजना हालका लागि एक बर्षे अवधीको हुने संयोजक अम्मैले जानकारी दिए । केदार माध्यमिक विद्यालय नेचा, सिंहकाली माध्यमिक विद्यालय तिङला, गार्मा माध्यमिक विद्यालय गार्मा, जन जागृति माध्यमिक विद्यालय सल्लेरी, चाँगेस्थान माध्यमिक विद्यालय केरुङ, वीरेन्द्रज्योति माध्यमिक विद्यालय सोताङ र छेस्काम माध्यमिक विद्यालय छेस्काममा परियोजना सञ्चालन हुने रिड नेपालले जनाएको छ ।

रिड नेपालले शिक्षक तालिम, विद्यार्थी छात्रवृत्ति, विद्यालय भवन निर्माण तथा मर्मत लगायतको क्षेत्रमा सोलुखुम्बुमा काम गरिरहेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!