सोलुको साग तराइ देखि काठमाडौँ सम्म, स्थानियले नै खान पाएनन्

sagहिमाली जिल्ला सोलुखुम्बुमा उत्पादन भएको रायोको साग धमाधम तराइ तथा काठमाडौँ सम्म निकासी हुन थालेको छ ।
हिमाली तथा चिसो बाताबरणमा उब्जाइएको साग पहाडी तथा तराइमा उत्पादन भएको साग भन्दा स्वादिष्ट हुने भएकोले सोलुमा उत्पादन भएको सागको माग अत्याधिक बढेको हो । सोलु सल्लेरीबाट हप्तामा दुइ पटक गरि उदयपुरको कटारी हुदै सिरहा, सप्तरी सम्म पुर्याइने गरेको ब्यबसायीहरु बताउछन् ।

यसरी हप्तामा एक टन अर्थात करिब २ हजार मुठा सम्म साग तराइका जिल्लाहरुमा पुग्ने गर्दछ । तराइ जोड्ने सकड कालोपत्रे भइ सुबिधा सम्पन्न हुनुले सागको ढुवानीमा सहजता आएको छ भने माग पनि तराइमा ह्वात्तै बढेको छ । माग बढे पछि सोलुका कृषकले पनि साग उत्पादनमा चासो दिन थालेका छन् । सागको मुल्य तराइमा सामान्यतया मुठाको १५ रुपैयाँ पर्छ । तर सोलुको साग भने पछि उपभोक्ता प्रतिमुठा ५० रुपैयाँ सम्म तिर्न तयार हुने गर्दछन् । सोलुबाट लगिएको साग उदयपुरको कटारीमै सकिने गरेको ब्यबसायी रमेश राइ बताउछन् । कटारीबाट मिर्चैया र तराइका अन्य बजारमा पुर्याउनै धौधौ हुने उनको अनुभब छ ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा प्रत्यक शनिबार हाट बजार लाग्दछ । तर बजारमा ल्याउन नपाउदै तराइ ढुवानी गर्ने ब्यबसायीहरुले सबै साग लगिदिने गरेको कृषक पासाङदिकी शेर्पाले बताइन् । बजारमा स्थानिय उपभोक्ताले किन्ने मुल्य भन्दा केही रकम बढि तिरेर लैजाने भएकाले घण्टौँ सम्म बसेर बेच्नु पर्ने झन्झट नहुने र बढि फाइदा पनि हुने भएकाले आफुहरुलाइ फाइदा भएको उनको भनाइ छ । तर यसरी हरियो साग तराइ पैठारी हुन थाले पछि पर्याप्त मात्रामा साग खान नपाएको सल्लेरीबासीको गुनासो छ । साग तथा धनियाँ धमाधम अन्यत्र निकासी हुन थाले पछि कृषकले भने राम्रो आम्दानी लिन थालेका छन् । सागले राम्रो आम्दानी दिन थाले पछि अन्य कृषकहरु पनि साग खेती तर्फ आकर्षित भएको अर्की कृषक दाफुटी शेर्पाले बताइन् । सामान्यतया पहाडी तथा तराइ क्षेत्रमा ठण्डी महिना पुष माघमा साग उत्पादनको मौसम हो । तर अहिले मध्य गर्मीको समय भए पनि केही जाडो रहेको सोलुमा साग राम्रो उत्पादन भइरहेको छ ।

सधै जाडो हुने भएकोले जिल्लामा सधैँ साग उत्पादन हुने र अन्य जिल्लामा भन्दा यहाँ उत्पादन हुने साग स्वादीष्ट हुने भएकोले बाहिरि जिल्लामा सागको माग अत्याधिक बढेको तथा माग धान्न नसकेको कृषी बिकास कार्यलय सोलुखुम्बुका बरिष्ठ कृषी बिकास अधिकृत हस्तबहादुर बिष्टले बताए । उनले यहाँ उत्पादन हुने सागमा कुनै बिषादी प्रयोग नहुने र शुद्ध अर्गानिक हुने भएकोले धेरैको ध्यान सोलुको सागमा पर्ने गरेको बताए ।

सडक मार्गबाट मात्रै नभइ सोलुको साग हवाइ मार्गबाट समेत निकासी हुने गरेको छ । फाप्लु बिमानस्थल हुदै जहाजबाट राजधानी काठमाडौँ सम्म पुग्ने गरेको छ । तर जहाजबाट लगिने साग भने ब्यबसायीक प्रयोजनका लागि भन्दा पनि आफन्त र निकटस्थ ब्यक्तिहरुलाइ कोसेली स्वरुप लैजाने गरेको तारा एयरलाइन्स फाप्लुका स्टेशन म्यानेजर अशोक थुलुङले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु