सोलुका स्थानीय तहवाट विनियोजित कृषि बजेट

शिखर गजरकोटे
सोलुखुम्बु, ९ पौष,

स्थानीय तहको निर्वाचनपछि जिल्ला कृषि विकास कार्यालय मार्फत खर्च हुने बजेट स्थानीय तहमै पठाईएको छ । कृषि कार्यक्रमकै लागि भनेर मन्त्रालयले पठाएको बजेटलाई कतिपय स्थानीय तहले भारी कटौति गर्दा कतिपयले भने रकम थपेर कार्यक्रम तर्जुमा गरेका छन् ।

एक नगरपालिका सहित ८ स्थानीय तह रहेको सोलुखुम्बुमा स्थानीय तहपिच्छे कृषि क्षेत्रको लागनीमा विभिन्नता देखिएको छ । सोलुदुधकुण्ड नगरपालिकामा मन्त्रालयवाट एक करोड २७ लाख ४६ हजार कृषि बजेट आएपनि भारी कटौति गरि ७२ लाखको कार्यक्रम तर्जुमा गरिएको छ । त्यस्तै, लिखुपिके गाउँपालिकालाई ६५ लाख ३ हजार रकम आएकोमा ३० लाखको मात्र कार्यक्रम संचालन गरिने निर्णय गरिएको छ । जिल्लाको माथिल्लो क्षेत्र खुम्बुपासाङ ल्हमू गाउँपालिकामा कृषि कार्यक्रमको लागि ३९ लाख ९२ हजार रकम प्राप्त भएपनि २९ लाखको मात्र कार्यक्रम संचालन गरिने भएको छ । यस्लाई हेर्दा नगरपालिकाले सबैभन्दा बढि ५५ लाख भन्दा बढि कृषि बजेट कटौति गरेको छ भने लिखुपिकेले ३५ लाख भन्दा बढि र खुम्बुपासाङल्हमूले १० लाख भन्दा बढि कृषि बजेट कटौति गरेको छ । त्यस्तै, दुधकोशी गाउँपालिकाले मात्र २० हजार रकम कम गरि कार्यक्रम तर्जुमा गरेको छ । मन्त्रालयवाट प्राप्त ७० लाख २० हजार मध्ये ७० लाखको कृषि कार्यक्रम संचालन शुरु गरेको छ ।

तर महाकुलुङ गाउँपालिकाले कृषि कार्यक्रमका लागि मन्त्रालयले पठाएको बजेट जस्ताको जस्तै खर्च गर्ने गरि कार्यक्रम तर्जुमा गरेको छ । उक्त गाउँपालिकामा कृषि बजेटको रुपमा ६८ लाख ६३ हजार रकम प्राप्त भएको थियो । यता, नेचासल्यान, दुधकौशीका र सोताङ गाउँपालिकाले मन्त्रालयवाट प्राप्त कृषि रकममा केहि लाख रकम थप गरि कार्यक्रम तर्जुमा गरेको छ । नेचासल्यान गाउँपालिकाले मन्त्रालयवाट प्राप्त ९४ लाख ३९ हजारमा ३ लाख ६१ हजार थप गरि ९८ लाखको कृषि कार्यक्रम तयार पारेको छ । त्यस्तै, सोताङ गाउँपालिकाले प्राप्त बजेट ५८ लाख ६३ हजार कृषि बजेटमा ५ लाख थप गरेको छ भने दुधकौशीका गाउँपालिकाले एक करोड १३ लाख ४८ हजार मन्त्रालयवाट प्राप्त बजेटमा गाउँपालिकाको तर्फवाट ३० लाख रकम कृषि कार्यक्रममा थप गरेको छ ।

चाुलु आर्थिक बर्षमा स्थानीय तहको बजेटलाई हेर्दा कतिपयले कृषि क्षेत्रको विकासलाई महत्व दिएको देखिन्छ भने कतिपयले प्राप्त बजेटलाई कटौति गरिएको पाईन्छ । सोलुदुधुकुण्ड नगरपालिकामा बजेट र कार्यक्रम कटौति गरिएपछि नगरक्षेत्रको कृषकहरुमा आहात पुगेको कृषि शाखा प्रमुख तथा बागबानी अधिकृत लक्ष्मण दासको भनाई छ । तर मेयर नाम्गेलजाङबु शेर्पाले कृषि कार्यक्रमको बजेट कटौति नगरिएको बताए । मेयर शेर्पाले ससर्त र निर्सत बजेटमा अन्यौल भएका कारण समस्या आएपनि मन्त्रालयवाट थप बजेट माग गरि पेश भएका कृषि कार्यक्रम संचालन गर्ने गरि तयारी गरिएको जानकारी दिए ।

उता, दुधकौशीका गाउँपालिकामा यथेष्ट बजेटको व्यवस्था गरेपनि प्राविधिक नहुदाँ कार्यक्रम संचालनमा समस्या आएको छ । गाउँपालिका प्रमुख असिम राई प्राविधिकको व्यवस्था गरि कार्यक्रम संचालन गरिने बताउछन् ।

स्थानीय तहले कार्यक्रम शुरु गरेपनि कतिपय कृषकहरु भने अझै पनि कृषि विकास कार्यालयवाट आश गरिरहेका छन् । राज्यले प्रदान गर्ने सेवासुविधा मध्ये कृषि कार्यक्रम पनि सम्बन्धित स्थानीय तहको मातहतवाट संचालन हुने भएकाले नझुक्किन कृषि विकास कार्यालयले अनुरोध गरेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु