सेतोमानेका दर्जनौ महिलाहरु ‘गिटी’ कुटेरै हजार कमाउछन्

पढेलेखेका हजारौले विहान १० बजेदेखि ५ बजेसम्म कार्यालयमा समय विताएपनि सोलुखुम्बु पत्तालेका दर्जन बढि महिलाहरुको दिन गिटी कुटेर जान्छ । हरेक दिन हजार भन्दा माथीकै आम्दानी गर्ने उनीहरुले कमाएको रकम घरायसी खर्चमै चलाउछन् ।

सोलुखुम्बुको पत्ताले नजिक पर्ने सेतोमाने स्थित सडककै छेउमा आफ्ना बालबालिका सहित दर्जन बढि महिलाहरु गिटी कुटिरहेका थिए । त्यो दृष्य देखेपनि हामी रोकियौ र सोध्यौ की, उनीहरुको दैनिकीको बारेमा । विहानको खाना खाएर दिनभर गिटीकै साथमा विताउने ति महिलाहरुले दिनमा हजार देखि १२ सय सम्म कमाउछन् । खुसि हुदै मन कुमारी मगर भन्छिन्, कमाएको पैसा बालबच्चा पढाउनमा खर्च गर्छु ।

त्यो जमातमा अधबैशै महिला मात्रै थिएनन् । उमेर र जन्म साल समेत राम्ररी बताउन नसक्ने सामाजिक सुरक्षा भक्ता लिईरहेकी आमा समेत गिटीलाई सारथी बनाईरहेकी थिईन् । उनले सो कार्यवाट कमाएको पैसाले फलफूल किनेर खाने बताईन् । उनको हँसाई सुन्दा लाग्थ्यो मनमा पिर थिएन ।

मनमाया मगर दिनैभरी घरमै बस्नुभन्दा गिटी कुट्न आउने गरेको बताउछिन् । उनि भन्छिन्, दिनै भरी सुतेर बस्नुभन्दा काम गरे दिन काट्न पनि सजिलो, आम्दानी पनि हुने ।

उनीहरुले गाउँले संगीहरुसंग गफिदै बढिमा २० टिनसम्म गिटी फोर्ने गर्छन् भने प्रति टिन ६० रुपैया पाउने गरेको सुनाए । कमाएको पैसाले घरखर्च सजिलै चलाउने गरेको ति महिलाहरुको भोगाई थियो । सकेको काम गर्न सकेपनि महिनामा ३० हजार सम्म कमाउन विदेश जानु नपर्ने सानो तर महत्वपुर्ण उदाहरण दिएका छन्, गिटी कुट्ने महिलाहरुले !

प्रस्तुती – शिखर गजरकोटे

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!