सुख्खा पहिरोले वुटवलको सिद्धबाबामा कार र ट्रक पुरिए, तीनको मृत्यु

हिमाल एफ.एम, ७ असोज ।
सुख्खा पहिरो खसेर वुटवलको सिद्धबाबामा कार र ट्रक पुरिएको छ । पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पहिरोले पुरेको हो । मृत्यु हुनेमा ट्रक चालक तिनाउ गाउँपालिका–४ का माधव राना, कारमा सवार गुल्मी रुरु गाउँपालिका काउलेका तीलकराम भण्डारी र बलेटक्सार–४ गुल्मीका यमलाल ज्ञवाली छन् ।

ट्रक चालक राना र कारमा सवार भण्डारीको घटनास्थलमा र कारमा सवार अर्का ज्ञवालीको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कारमा सवार भण्डारीकी श्रीमती राधिका सामान्य घाइते भएकी छन् । दुर्घटनाले बिहानदेखि सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा हुँदै पोखरा जाने र बुटवल फर्कने सवारी रोकिएका थिए । प्रहरीले डोजर लगाएर अवरुद्ध सडक दुवैतर्फ खुलाएको छ । तिनाउ गाउँपालिका दोभानको हेडबक्स भन्ने स्थानमा पहिरो खसेको हो । पटक–पटक सिद्धबाबामा धुले पहिरो र हिले पहिरोका कारण वर्षेनी मानिसको ज्यान जाने गरेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!