सम्झना ‘स्वर सम्राट’ नारायण गोपालको

स्वर सम्राट स्वर्गीय नारायणगोपालको २७ औं स्मृति दिवस आज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । ‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ जस्ता सयौं कालजयी गीत गाएका सुमधुर स्वरका धनी नारायण गोपाल गुरुवाचार्यको जन्म विक्रम संवत १९९६ मा काठमाडौंको किलागलमा भएको थियो ।

२०१६ साल देखि गुञ्जिरहेको नारायण गोपालको स्वर २०७४ सालसम्म आईपुग्दा पनि उस्तै कणप्रिय छ । जतिवेला नारायण गोपालले गाउदा ताकाको थियो, अनि उत्तिकै माधुर्य छरिरहेको छ, नेपाली सांगीतिक आकाशमा । कारण हो, मनैछुने शब्द र संगीतवाट बुनिएका गीत । स्वरसम्राट नारायण गोपालको मौलिक अनि जादुगरी वजस्वी स्वर ।

सृजनशीलता र गुणस्तरलाई माया गर्ने स्वाभिमानी गायक नारायण गोपालको गीतको शब्द छनौट, संगीतको गहनता र स्रोताको ह्रदय छाम्न सक्ने अद्भूत क्षमताका कारण नै उनका गीत जिवन्त छन् ।

मेसिनले जस्तो गाउन हुदैन् भन्दै संगीतको महासागरमा डुबुल्कि मार्न पुगेका उनी सांगीतिक मोति भेटाउन सफल भए । कालान्तरमा उनी स्वर सम्राटको उपमावाट कहलिन पुगे ।

२० बर्षको उमेर देखि संगीतका हरेक विधामा आफ्नो गलाको कला देखाउदै आएका नारायण गोपालको सांगीतिक यात्रामा विभिन्न आरोहअवरोह पनि आए । तर तिनलाई चिर्ने एउटै माध्यम बन्यो, सरस्वतिको बास भएको उनको गला ।

२०३६ सालमा सांस्कृतिक संस्थानको महाप्रबन्धक, ललितकला क्याम्पसको संगीत विशेषज्ञ, सञ्चार मन्त्रालयको सल्लाहकार जस्ता प्रशासनिक पद सम्हालेपनि उनका कालजयी गीतले संगीतको सुगन्ध फैलाउने काममा कुनै कसर बाँकी राखेनन् ।

पेमला गुरुवाचार्य जस्तो जीवनसंगी पाएपनि उनीहरुको कुनै सन्तान भएन । तर सन्तानको अभाव पुर्ती गर्ने दरिलो माध्यम स्रोताको ढुकढुकीमा बस्ने उनका अनगिन्ती गीत बनिरहे ।

नेपाली सांगितिक क्षेत्रमा कहिल्यै तिर्न नसकिने गुण लगाएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते निधन भयो । उनको निधन पछि नारायण गोपाल स्मृतिको स्थापना गरियो । उनको सांगीतिक सपना पुरा गर्ने उद्देश्यले । तरपनि यसले सोचेजति काम गर्न सकेको छैन् । अझ सरकारी पक्षले त उनको योगदानको कदर गर्न कुनै औपचारिकता समेत निर्वाह गरेको देखिदैन । स्वर सम्राट सांगीतिक जेष्ठताको कदर गर्ने उनका लाखौ स्रोता भने हिजो जस्तै आज पनि झुमिरहेका छन् ।

उनका कालजयी गीत आज पनि उत्तिकै लोकप्रिय छन् । स्वर सम्राट नारायण गोपालले २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट संगीतकार पुरस्कार, २०२४ सालमा सर्वोतकृष्ट गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बा श्री, २०४७ सालमा उर्वशी रङ, २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो जस्ता दर्जनौ पुरस्कार पाएका थिए ।

प्रस्तुती–शिखर गजरकोटे

प्रकाशित मिति २०७४ मंसिर १९ गते

Comments

comments

सम्बन्धित शीर्षकहरु