समय भन्दा अगावै काम सम्पन्न गर्ने व्यवसायी सम्मानित

हिमाल एफ.एम फागुन १६ । निर्माण व्यवसायीमा ठेक्का पाउनका लागि लागत अनुमान मूल्यभन्दा निकै कम रकममा बोलपत्र हाल्ने र ठेक्का पाएपछि कामै नगर्ने प्रवृत्ति रहेकामा सरकारले दुई जना निर्माण व्यवसायीलाई सम्मान गरेको छ ।
सडक विभागले निर्धारित समयभन्दा अगावै काम सम्पन्न गरेको भन्दै कालिका कन्स्ट्रक्सनका अध्यक्ष बिक्रमबहादुर पाण्डे र अनक कन्स्ट्रक्सनका सञ्चालक श्रीराम महर्जनलाई सम्मान गरेको हो ।
Untitled-11
विभागले शुक्रबार गरेको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले निर्माण व्यवसायीद्वय पाण्डे र महर्जनलाई सम्मानपत्र प्रदान गर्नुभयो । कालिका कन्स्ट्रक्सनले नेपालगञ्जमा ११ दशमलव ७२८ किलोमिटर लामो सडक बिस्तार गर्ने काम निर्धारित समयभन्दा सात महिना पहिले नै पूरा गरेका कारण विभागले कन्स्ट्रक्सनका अध्यक्ष बिक्रमबहादुर पाण्डेलाई सम्मान गरेको हो ।
यस्तै अनक कन्स्ट्रक्सनले बर्दियामा कर्णाली पुल निर्धारित समयभन्दा नौ महिना पहिले नै सम्पन्न गरेर सडक विभागको सम्मान पाएको हो । विभागका महानिर्देशक माधव कार्कीले निर्माण व्यवसायी इमान्दार र लगनशिल भए ठूला आयोजना समयमै सम्पन्न हुन सक्छन् भन्ने प्रष्ट भएको बताउनुभयो ।
विभागले कालिका कन्स्ट्रक्सनले बिस्तार गरेको सडक तथा अनक कन्स्ट्रक्सनले बनाएको पुलको निर्माणसँग सम्बन्धित आफ्ना चार जना कर्मचारीलाई पनि सम्मान गरेको छ ।
विभागले पुल योजना पश्चिम क्षेत्र सेक्टर नम्बर ३ नेपालगञ्जका इन्जिनियर गणेशकुमार गौतम, एडिबी सडक परियोजनाका योजना प्रमुख राजेश कुमार यादव, विभागको पुल महाशाखामा कार्यरत इन्जिनियर मन्दा पन्त र आयोजना निर्देशनालयका इन्जिनियर प्रदिपराज शाक्यलाई सम्मान गरेको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु