सगरमाथा निकुन्ज क्षेत्रबाट हुने चोरी शिकारी रोक्न खुम्बुमा भेला (यी हुन् निर्णयहरु)

सोलुखुम्बु, वैशाख १७


सगरमाथा राष्ट्रिय निकुन्ज र मध्यवर्ती क्षेत्रमा भएको चोरी शिकारीको विषयमा सरोकारवालाहरुको वैठक बसेको छ ।


खुम्बु पासाङल्हामू गाउँपालिका ५ का वडाअध्यक्ष छिरिङ पेन्जो शेर्पाको अध्यक्षतामा बुधबार बसेको वैठकले निकुन्ज र मध्यवर्ती क्षेत्रबाट हुने बन्यजन्तु र वनपैदावार चोरी निकासी नियन्त्रणका लागि समुदायमा आधारित चोरी शिकारी नियन्त्रण इकाइ गठन गरि यूवाहरु प्रिचालन गर्ने र निरन्तर सक्रिय बनाई राख्न निकुन्ज, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति र वडा कार्यालयबाट बार्षिक कार्यक्रम तर्जुमा गर्ने निर्णय गरेको छ ।


निकुन्ज जंगल पस्ने मानिसको निगरानी बढाउने र शंकास्पद लागे यथासिघ्र सूचना निकुन्ज प्रशासन या सुरक्षा निकायलाई दिने, बन्यजन्तु तथा वन पैदावारको चोरी निकासीलाई कम गर्न गस्ती प्रभावकारी बनाउन स्थानीयको सहयोग लिने, बृहत क्षेत्रमा फैलिएको निकुन्जबाट चोरी निकासी नियन्त्रण गर्न प्रविधि(ड्रोन, स्वचालित क्यामरा, एक्सरे मेसिन)को प्रयोगका लागि आगामी दिनमा बजेट व्यवस्थापन गर्न निकुन्ज र मध्यवर्ती क्षेत्रलाई अनुरोध गर्ने निर्णय गरिएको निकुन्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए ।


उपाध्यायका अनुसार ६ वटा कस्तुरी मृत अवस्थामा भेटिनु र ५४ वटा पासो फेला परेको विषयमा अनुसन्धानका लागि गत चैत्र २३ गते फोर्चेमा बन्दुक पड्केको आवाज सुनेपछि पक्राउ गरिएका संखुवासभाका शंखुराम राईलाई झिकाएर अनुसन्धान शुरु गर्ने निर्णय समेत गरिएको छ ।


यसैगरि मंगलबार खुम्बु पासाङल्हामू गाउँपालिकाकी उपाध्यक्ष टाशी शेर्पाको अध्यक्षतामा बसेको सरोकारवालाहरुको वैठकले सगरमाथा राष्ट्रिय निकुन्जको बार्षिक कार्यक्रम अन्तरगत निर्माण गरिएको फूंगीठाँगा देखि तेङबोचेसम्म निर्माण गरिएको पदमार्ग गुणस्तरहित भएको भन्दै रोक्का गर्नका लागि निकुन्ज हुदै निकुन्ज विभागमा पत्राचार गर्ने निर्णय गरेको छ ।

सो पदमार्गको काम गुणस्तरहिन भएको भन्दै खुम्बिला मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले भूक्तानी रोक्का गर्नुपर्ने निर्णय गरेको थियो । वैठकले खुम्बिला कन्ट्रक्सनले निर्माण गर्न लागेको आकाङ डुकाङ बाटो भू–क्षयको संभावना बढेपछि निर्माण रोक्नका लागि सगरमाथा राष्ट्रिय निकुन्जलाई आग्रह गर्ने निर्णय गरिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!