सगरमाथा आरोहण सुचारु गर्न आग्रह

१२ बैशाख, काठमाडौं । पर्यटन तथा नागरिक उड्ययन मन्त्री भीमप्रसाद आचार्यले सगरमाथामा हिमपहिरो गएकै कारण हिमाल आरोहण नरोक्न आग्रह गरेका छन् । मन्त्री आचार्यले काठमाडौं बाहिर अन्तरराष्ट्रिय विमानस्थल विस्तार गर्ने र २२ वटा विमानहरु किन्ने सरकारी योजना सुनाएका छन् ।bhim acharya

शुक्रबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै मन्त्री आचार्यले आन्तरिक उडानका १५ र बाह्य उडानका ७ वटा गरी २२ जहाज किन्ने योजना सुनाएका हुन् । ‘नेपाल वायु सेवा निगमसँग रहेका दुईवटा साना जहाज पनि बिग्रेका छन्, एउटा उड्दा अर्को बिग्रन्छ, त्यसैले भाडामा भए पनि जहाज ल्याएर उडाउने तयारीमा छौं’, मन्त्री आचार्यले भने, ‘आन्तरिक उडानका लागि १५ वटा र अन्तर्राष्ट्रिय उडानका ठूला ७ वटा जहाज ल्याउने योजनामा छौं ।’

नेपाल बायुसेवा निगमसँग हाल जहाज नै नभएकाले भाडामा जहाज ल्याएर भए पनि स्वदेशी तथा विदेशी उडान जारी राख्ने मन्त्री आचार्यको भनाइ थियो ।

विमानस्थल विस्तारमा लाग्ने आश्वासन

मन्त्री आचार्यले देशमा एउटामात्रै अन्तर्राष्ट्रिय विमानस्थल भएकाले थप अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि सरकार लागिरहेको दाबी गरे । ‘काठमाडौं बाहिरका विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयास भइरहेको छ, त्यसो भएमा त्रिभुवन विमानस्थलको मात्र भर पर्नुपर्ने अवस्थाबाट छुटकारा मिल्नेछ ।’, मन्त्री आचार्यले भने ।

सगरमाथा आरोहण सुचारु गर्न आग्रह

मन्त्री आचार्यले हिमपहिरो झरेलगत्तै सरकार उद्धारमा लागेको बताउँदै पीडित परिवारलाई राहत दिन सरकार संवेदनशील भएकाले सगरमाथा आरोहण जारी राख्न आग्रह गरेका हुन् ।

हिमपहिरोमा जन धनको क्षति भएपछि सगरमाथा आरोहणमा सहयोगी काम गर्दै आएका शेर्पा समुदायले सगरमाथा नचढ्ने घोषणा गरेका छन् । मन्त्री आचार्यले विहीबार सगरमाथा आधार शिविरको भ्रमणसमेत गरेका थिए ।

‘हिमपहिरोमा परेका १३ जनाको मृत्यु भएको, तीनजना हराइरहेका छन्, सरकारले उनीहरुको पनि खोजी गर्ने छ’, मन्त्री आचार्यले भने, ‘वीमामार्फत १० लाख र सरकारबाट ५ लाख रुपैयाँ दिनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लाने तयारी भएको छ ।’

मृतकका छोराछोरीलाई निशुल्क शिक्षा दिइने

मन्त्री आचार्यले मृतकका छोराछोरीको शिक्षाका लागि पनि सरकारले पहल गर्ने बताउँदै उनीहरुका लागि मासिक खर्च उपलब्ध गराउने बताए । ‘म आफैं सगरमाथा आधारशिविरमा पुगेर आएको छु, त्यहाँ आरोहण जारी राख्ने सहमति भएको छ’, मन्त्री आचार्यले भने, ‘अनुभव भएका शेर्पाहरुलाई आरोहणका क्रममा हुने महत्वपूर्ण जिम्मेवारी दिने व्यवस्था प्रति सरकार लागेको छ ।’

Comments

comments

सम्बन्धित शीर्षकहरु