सगरमाथा आरोहण दलका सहयोगीहरुले राखेका सबै मागहरु पुरा गर्ने पर्यटन मन्त्री आचार्यको प्रतिबद्धता ।

बिक्रम श्रेष्ठ । बैशाख ११– सोलुखुम्बु
पर्यटन तथा नागरिक उड्यन मन्त्री भीम आचार्यले सगरमाथा आरोहण दलका सहयोगीहरुले राखेका सबै मागहरु पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । आज सगरमाथाको आधार शिबिर पुगी मन्त्री आचार्यले सगरमाथा आरोहणमा आरोहीहरुको सहयोगीको रुपमा रहने ट्रेकिङ गाईड, तथा अन्य सहयोगीहरुको बिमा रकम बढाउने, हिम पहिरोमा परि मृत्यु भएकाहरुको परिवारलाई १० लाख रुपैयाँ क्षतीपुर्तिको ब्यबस्था गर्ने, उनका परिवार तथा बालबच्चाको पालनपोषणको ब्यबस्था गर्ने, तथा घाईतेहरुको सम्पुर्ण उपचार खर्च राज्यले बेहोर्ने बताउनुभयो । हिम पहिरोका कारण १६ जनाको ज्यान गए पछि उक्त बिषयहरुमा माग राख्दै शेर्पाहरुले यस पटक आरोहण नगर्ने बताईरहेका बेला मन्त्री आचार्यले आरोहण सहयोगीहरुले राखेको माग जायज भएको भन्दै पुरा गर्न सरकार तयार रहेको प्रष्ट पार्नुभएको हो ।
त्यस्तै मन्त्री आचार्यले सगरमाथा आरोहणका लागी रोयल्टी रकम तिरेर आधार शिबिर पुगेका आरोही दलका सदस्यहरुले आगामी ५ बर्ष सम्म सोही रोयल्टीमा जुनसुकै समयमा १ पटक चढ्न पाउने छुट दिएको जानकारी दिनुभयो । सो दुर्घटना पछि कतिपय बिदेशी आरोहीहरुले सगरमाथा आरोहण नगर्ने मानसिक्ता बनाईरहेका बेला मन्त्री आचार्यले ५ बर्ष भित्र १ पटक जहिले आएर पनि आरोहण गर्न सक्ने तर रोयल्टी बापत सरकारलाई तिरेको रकम भने फिर्ता नहुने बताउनुभएको सगरमाथा आधार शिबिरबाट एस पिसिसिका अधिकृत छिरिङ शेर्पाले जानकारी दिनुभएको छ ।
आधार शिबिरमा ५ सय भन्दा बढि बिदेशी पर्यटक तथा पथप्रर्दशकहरुको माझमा मन्त्री आचार्यले हिम पहिरोमा परि १६ जनाले ज्यान गुमाउनु बिश्वकै लागी दुखद घटना भएको भन्दै हिमालमा काम गर्ने शेर्पाहरुको योगदानको खुलेर प्रशंसा गर्नुभयो । बिहिबार बिहान हेलीकोप्टर मार्फत काठमाडौबाट सगरमाथाको आधार शिबिर आउनुभएका मन्त्रीको टोलीमा मन्त्रालयकै पर्यटन एदोग महाशाखाका प्रमुख मधुसुदन बुर्लाकोटी, ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल टानका अध्यक्ष रमेश धमला, नेपाल माउण्टेनियरिङ गाईड एशोशियसनका महासचिब पासाङ शेर्पा रहनुभएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!