सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा विस्तार गर्न ६ करोड ९९ लाख अनुदान

सोलुखुम्बु, असार २१


सगरमाथाको आधार शिविरसम्म द्रुत गतिको इन्टरनेट सेवा विस्तार हुने भएको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणले यो सेवा विस्तारका लागि एभरेष्ट लिंक प्रालीलाई छनौट गरेको छ । यसअघि नै सगरमाथा क्षेत्रमा इन्टरनेट तथा सञ्चारसम्बन्धि काम गर्दै आएको कम्पनीले फाइबरसहितको इन्टरनेट विस्तारको जिम्मा पाएको छ ।

प्राधिकरणले ग्रामिण दुरसञ्चार कोषको रकमबाट यो परियोजना अघि बढाएको हो। गएको वैशाखमा सगरमाथा क्षेत्रमा इन्टरनेट सेवा विस्तार गर्ने इच्छुक कम्पनीबाट प्रस्ताव आव्हान गरिकएको थियो । यसमा सबैभन्दा न्यून लागतमा सेवा विस्तार गर्न एभरेष्ट लिंकले कबोल गरेकाले छनौट गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

कम्पनीले सम्झौता भएको ८ महिनाभित्र सेवा विस्तार गरिसक्ने प्रतिबद्धता गरेको छ । यो परियोजनाका लागि उसले ६ करोड ९९ लाख ९ हजार रुपैयाँ अनुदान पाउने छ । नाम्चेदेखि आधार शिविरसम्म अप्टिकल फाइबर विस्तार गर्नुपर्ने छ ।

कम्पनीले एक प्रयोगकर्तालाई दिनमा आधा घण्टासम्म निशुल्क इन्टरनेट दिनुपर्ने व्यवस्था छ । यसअघि चीनतर्फको आधार शिविरमा भने हुवावे र चाइना टेलिकमले फाइभजी इन्टरनेट विस्तार गरिसकेका छन्। सेतोपाटी

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!