संविधानले खलबलाएको दिमाग

नरेन्द्रज‌ंग पिटर
जो आफ्नो विगतमाथि पेस्तोलले गोली चलाउँछ, भविष्यले उसमाथि तोपका गोला बर्साउनेछ– अबु निदाल (दागिस्तानी कवि)
आज नेपाल इतिहासको कठिन संघारमा छ। संविधान घोषणाको पूर्वसन्ध्या यस्तो संगीन मोडमा उभिएको छ कि, सत्ता परिवर्तन हुन चाहँदैन, समाज यथास्थितिमा बस्न मन्जुर गर्दैन। एकातर्फ विगतलाई पेस्तोल हान्ने अभ्यास भइरहेको छ भने अर्कोतर्फ आक्रोशित जनता परिवर्तन स्वीकार्ने लक्षण देखाइरहेका छैनन्।
केही मान्छे भने नेपाली समाजलाई ‘अल्जाइमर’ (बिर्सने रोग) लागेको छ भनेर विगत बिर्साइदिने खेलमा सक्रिय छन्। त्यस्तै सोच र भूमिका निर्माण गर्न सञ्चारमाध्यमको सहारा लिइरहेका छन्। एकाध मान्छेले विगत बिर्संदैमा वा विगतको मर्म थेग्न नसक्दैमा समाजको चेतनाले इतिहासलाई कहिल्यै भुल्दैन। समाजमा किन हिजो आक्रोश र असन्तोष झाँगिएर विद्रोह भयो? फेरि पनि सत्ताका चरित्रमा फेरबदल भएन, जागृत चेत, पैदा भएको स्वाभिमान, देखिएका सपनामाथि प्रहार हुन थाल्यो भने नतिजा के होला!

म एउटा गाउँले हुँ, तर अहिले सिंहदरबारनजिकै डेरामा बस्छु। सिंहहदरबार चन्द्र शमशेर निर्मित १७ सय कोठाको एउटा ठूलो घरमात्रै नभई नेपाली सत्ता संस्कृतिको केन्द्र पनि हो। भित्र सयाँै वर्षदेखिको सत्ता संस्कृति छ, शासक वर्गीय चिन्तन छ। बाहिर भने जनआवाज घन्किरहेका छन्। बीचमा पर्खाल लागेको छ। बाहिरको सपना, आक्रोश, चिच्याहट र विद्रोहका स्वर भित्रकाले सुन्दैनन्। कुनै कालखण्डमा त्यस्तै विद्रोहको अग्निवर्षा गर्नेहरू पनि पर्खालभित्र पसेपछि बिर्सन्छन्। सिंहदरबारले गलहत्याएपछि मात्रै उनीहरूलाई पुराना दिनको हेक्का आउँछ। त्यसैले पर्खालबाहिर विद्रोह, आक्रोश र आन्दोलन बन्छ भने भित्र त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर नियमकानुन बनाइन्छन् र हतियारमा साँध लगाइन्छ। त्यही समय हो अहिले अर्थात् संविधान घोषणा हुने पूर्वसन्ध्या।

अहिले देशैभरि परिवर्तन र प्रतिगामी स्वर छ्यासमिस भएर पोखिन थालेका छन्, यो एकदमै स्वाभाविक हो। अखण्ड, खण्ड र विखण्डनका आवेगले सडक गुन्जायमान छ। जातीय साम्प्रदायिकता र धार्मिक अतिवादले आवेगका रोटी सेकाँउदैछन्। दलका नेताहरू भने जिल्ला विकास समितिमा सभापति वा प्रधानपन्चको हैसियतबाट माथि उठ्न सकिरहेका छैनन्। त्यसैको परिणामबाट उब्जेको पीडा समाजले ब्यहोर्दैछ। सबै व्यक्ति, सोचविचार, अभियान जो, जेजस्तो छ त्यो छर्लंग देखिएको छ र सबै पक्षबीच आरोपप्रत्यारोप पनि त्यतिकै चलिरहेको छ। अन्धधार्मिक, अन्धजातिवाद र अन्धराष्ट्रवादको पछ्यौरी ओढेर खेलिने खेलका नियत पनि छरपष्ट भएका छन्। जनताको न्यूनचेत र यस्ता पात्रहरूको परिवर्तनप्रतिको आग्रहपूर्ण सोचले समाजमा केही भ्रम सृजना पनि हुन खोजेको छ। मिडियाको एउटा हिस्सा बैशाखी बनेको छ। तर, खुसीको कुरा जसरी यथास्थिति र प्रतिगमनले पत्यारलाग्दो नेतृत्व पाएको छैन त्यसरी नै अन्धधार्मिक तथा जातीय उन्माद वितरण गर्नेहरूले पनि पाएका छैनन्।

मिडियाले बनाउने धारणा

आज हामी जे सोचिराखेका छौँ, जस्तो धारणा बनाइरहेका छौँ, त्यसैअनुसार दैनिक व्यवहार गरिराखेका हुन्छाँै। के ती हाम्रो ब्रह्मले देखेका र आफैले बनाएका धारणा हुन् त भनेर कहिल्यै सोच्ने गरेका छौँ? धारणा र मान्यताहरू एकाएक बनेका हुँदैनन्। सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिकलगायतका अनेकौँ कारण र समयावधिले त्यो तय गर्छ । बनिसकेका धारणा र मान्यता फेर्नु भनेको त चट्टान फोर्नुजस्तै हो। हरेक मान्यतामा हेरफेर आउनुमा वैचारिक हस्तक्षेप कारण हुने गर्छ। हाम्रो सोच निर्माण हुन र भत्किन अनि नयाँ जन्मनका लागि सूचना, समाचार र विचार प्रवाह गर्ने मिडियाले प्रभाव पारिरहेको हुन्छ। हाम्रो जीवनमा धारणा बनाउन मिडियाले केकस्तो प्रभाव पार्यो ? हाम्रा दिमागमा के राम्रो, के नराम्रो, के सुन्दर, के कुरुप, के नैतिक, के अनैतिक भन्ने सोच ‘सिमेन्टेड’ हुन्छन्। त्यसलाई भत्काउन एउटा ठूलो वैचारिक क्रान्तिको आवश्यकता हुन्छ। हामीले पहिल्यै हरेक देश, जाति, समुदाय, धर्म, राजनीति, रंग, स्वाद, आचरणसम्बन्धी सुन्दर र कुरूपताका मानक तय गरिसकेका हुन्छाँै। केलाई राम्रो, केलाई नराम्रो भनेर पहिल्यै धारणा बनाइसकेका हुँदा त्यस्तै दृश्य जीवन व्यवहारमा पनि देखिने गर्छ। आदर्श र सोचअनुसार नायक र खलनायक छुटिन्छन् पनि। त्यसलाई फेर्न समय लाग्छ, अर्को वैचारिक हस्तक्षेपको आवश्यकता पर्छ।

अन्धआस्था र रुढीवादी सोचबिरुद्ध तर्कवाद र वैज्ञानिक चेत प्रवोधनकालको युरोपेली मानवसभ्यताका लागि उपहार हो। जिज्ञासाको उत्तर तर्कका कसौटीमा तथा विज्ञानका प्रमाणित आधारमा सत्यको नजिक पुग्नु नै मिडियाचेत हो। अझ मिडिया विशेषज्ञ एवं विश्वग्रामका स्वप्नाकार हरमन म्याकलुहन भन्छन्– ‘मिडिया हरपल नयाँ मान्छे बनाइरहेको हुन्छ। पछिल्लो सूचनाले उसका अघिल्ला धारणा भत्काइदिएर नयाँ र नौला विश्वास जन्मिन्छन्। सोहीअनुसार पहिलाभन्दा भिन्न भूमिका र आचरणमा मान्छे उभिन्छ।’ मार्क्स भन्छन्– ‘प्रविधिले संसार फेरिएको मान्छे आफ्नो स्वभाव पनि फेर्छ। प्रसिद्ध समाजवादी चिन्तक हेबरमासको भनाइ छ– ‘अहिले मासमिडिया नागरिकको जीवनलाई निजीकरण गरिरहेको छ र उपभोक्तामा फेरिरहेको छ।’

मिडियाचेत भनेकै ज्ञान, सूचना, प्रोपोगान्डा र विज्ञापनको बीचमा हामी कति भिन्नता पाउछौँ भन्ने हो। ‘प्रोपोगान्डाद्वारा शासकवर्ग जनताको इच्छााशक्तिलाई कमजोर बनाइदिन्छ र राजनीति छान्न सक्ने क्षमताबाट समेत बञ्चित गरिदिन्छ,’ ‘प्रख्यात भाषाशास्त्री एवं मिडिया विशेषज्ञ नोम चोम्स्की यसरी बुझ्छन्, ‘पहिला मिथ्याचेतलाई तर्कपूर्ण तरिकाले सत्यापित गरिन्छ र कालान्तरमा त्यसैलाई कलामय खण्डन गरिन्छ।’ फ्रेडरिक नित्से कार्ल मार्क्सको भनाइलाई खण्डन गर्नुपर्दा पहिला मार्क्सले भन्दै नभनेका कुरा स्थापित गराउँथे र पछि त्यसैलाई खण्डन गर्थे। अहिले विचारनिर्माता र अधिकांश मिडियाखेल नियाल्ने हो भने धर्मनिरपेक्षता र संघात्मक स्वरूपमा पनि अंशमा टेकेर समग्रमा आक्रमण कुटखेलमा त्यस्तै भयो।

माओवादीले शान्तियुद्धमा प्रवेश गर्नेबित्तिकै आफ्ना एजेन्डाको योजनाबद्ध मार्केटिङ गर्नु आवश्यक थियो। जहिले पनि आन्दोलनको राप र ताप भइन्जेल परिवर्तन संस्थागत गर्न मुस्किल पर्दैन, त्यो सेलाउने बित्तिकै कुनै आवेग खडा गरेर इतिहासले रछ्यानमा फयाँकेका शक्तिहरू परिवर्तनको सिकार खेल्न हौसिन्छन्। भारतीय सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता तथा प्रख्यात मानवअधिकारवादी वकिल कोलिन गोन्जालेजले ०६३ को अन्त्यमा नेपालगन्जमा आयोजित एउटा कार्यक्रममा बोलेको कुरा सम्भि्करहेको छु। उनले भनेका थिए– ‘नेपाली जनताले परिवर्तनका लागि यति रगत बगाइसकेका छन् कि त्यही रगतले नयाँ संविधान तपाईंहरू बनाउन सक्नुहुन्छ। अझ सहमतिको दस्तावेज अन्तरिम संविधान पनि घोषणा भइसकेको छ। यसलाई छिट्टै वैधानिकता दिनु हुन्न भने क्रान्तिले विस्थापित गरेकाहरू सलबलाउने छन्। अन्य शक्तिको चलखेल पनि त्यतिकै हुनेछ,। कर्पोरेट मिडियाले परिवर्तनबिरुद्ध मिथ्या चेत फैलाउने छ भने परिर्वतन रूपमा संस्थागत हुन सके पनि गुणमा भने संस्थागत गर्न मुस्किल पर्र्नेछ।’

सकार होस् या नकार होस् जे भए पनि अहिले बहस भने जनस्तरमा पुगेको छ। साउनको बेलामा पनि मानिस सडकमा उत्रिएका छन्। सोच्न नचाहने र नसोचोस् भन्ने मान्छेको दिमाग अब भने खलबलिएको छ। बहसलाई जनस्तरमा पुर्याछउने पहिलो दायित्व माओवादीको हुन्थ्यो। ऊ आफै मनोयुद्धको चक्रब्यूहमा फस्दा दुश्मन खोज्न अन्त जानै परेन, आफ्नै हुर्मत काढ्दै फुट्दै गयो। अर्कातर्फ हामीले हुकुम दिएपछि जनताले आदेश तामेल गरिहाल्छन् नि भन्ने शासकीय चिन्तनको पनि अहिले मथिंगल खराब भयो। होस् नपुर्या एर ठालू पल्टनेको हविगत देखिएकै छ। इतिहास पढ्नुको अर्थ मुर्दाको कथा श्रवण गर्नु नभई अरुले गरेका गल्ती आफूले नदोहोर्यानउने हेक्का नराख्नेहरूलाई धमिलो पानीमा माछा मार्नेहरूले झापड दिएका छन्। अब सामान्यजन सोच्न र सोध्न थालेका छन्– यो अस्तव्यस्तताका कारण के हो? यसका जिम्मेवार कोको हुन्? किन यस्तो भइरहेको छ? कार्य, कारण र परिणाम पनि सोच्न बाध्य भएका छन्। के यो चुत्थो विकल्पले सामाजिक अन्तर्विरोधको समाधान गर्नुभन्दा अर्को द्वन्द्वको आधार त तयार गर्दैन? नयाँ कुरा कतिपयलाई काउसो बन्छ भने कतिपय सोच्ने ठेक्का अरुलाई दिएर आफू कारिन्दा हुँँ भन्नेमात्र मान्छन्।

भ्रमपूर्ण चेत फैलाएर समग्र परिवर्तनवादी आन्दोलनमाथि नै सिकार खेल्ने शक्ति, चिन्तन र अभियानको योजनाबद्ध खण्डन परिवर्तनका वास्तविक हकवालाहरूले पनि गर्न सकेनन्। अहिले धर्मनिरपेक्षता थाँती राख्ने, राज्यको संघात्मक चरित्र विकासक्षेत्रको रूपमा रहने, अदालतको चरित्र, कार्यकारिणीको प्रत्यक्ष चुनावी चरित्र सबैसबै थाँती राख्नाले विगतलाई कतै बन्दुक दागिएर भोलिको तोपगोलाको प्रतीक्षा गरिएको त होइन भन्ने आशंका पनि जन्माएको छ। त्यो भूमिका चिन्न हाम्रा मिडिया कति सजग छन्, हेर्न बाँकी छ।

Comments

comments

सम्बन्धित शीर्षकहरु