संघीयताको प्रभाव – नर्सको भरमा जिल्ला अस्पताल

शिखर गजरकोटे/दिपेन्द्र पराजुली
सोलुखुम्बु कार्तिक २४

समायोजनमा कुनैपनि चिकित्सकको रोजाईमा सोलुखुम्बु नपर्दा जिल्ला अस्पताल फाप्लु एक हप्ता देखि नर्सको भरमा चलिरहेको छ । समायोजनबाट कार्यरत चिकित्सक डा। रमिन महर्जन सरुवा भएर ललितपुर गएपछि सोमबार देखि जिल्ला अस्पताल नर्सको भरमा चल्नुपरेको हो ।

७ जना नर्स तथा करारका स्वास्थ्य सहायकले अहिले अस्पतालको सेवा दिईरहेको सूचना अधिकारी सानि शेर्पाले बताईन् । सामान्यदेखी जटिल खालका रोगको उपचारका लागि अहिले ओखलढुङगाको मिसन हस्पिटल तथा काठमाण्डौ लैजानुपर्ने बाध्यता रहेको छ । चित्किसक नभएपछि अहिले अधिकांश बिरामी उपचारका लागि फाप्लु अस्पताल जानै छाडेका छन् ।

चिकित्सक हुदा सयको हाराहारीमा विरामी पुग्ने अस्पतालमा अहिले मुस्किलले ४० जना विरामी उपचारका लागि पुग्ने अस्पतालकी स्टाफ नर्स अमिता राईले बताईन् । अस्पतालबाट अहिले सामान्य किसिमको प्रसुति सेवा, एक्स–रे, भिडियो एक्स–रे सेवा प्रदान हुने भएपनि चिकित्सक नहुँदा रोगको पहिचान नहुने भएकाले बिरामीहरु उपचार गर्नका लागि बाहिरि जिल्ला जानुपर्ने अवस्था सिर्जना भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकिबाट रेफर गरिएका बिरामी जिल्ला अस्पताल आउने गरेपनि अस्पतालले अन्यत्र रेफर गर्दै आएको छ ।

संघीय सरकारको मातहतमा रहेको अस्पताललाई संघीय संरचना लागु भएपछि प्रदेश सरकारको मातहतमा राखिएको छ । प्रदेश मातहतमा रहेपछि दरबन्दीपनि ५० प्रतिशत घटाईएको छ । जिल्ला अस्पतालमा समेत चिकित्सक नभएपछि प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले सल्लेरीमा आयोजित एक कार्यक्रममा आक्रोश पोखेका थिए ।

उनले संघीय सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको राजिनामा माग गरेका थिए । उनले भने, ‘स्वास्थ्यमन्त्रीले राजिनामा दिएहुन्छ, दुईतिहाई पु¥याउन सरकारमा ल्याएको उपेन्द्रजीले सरकारलाई असफल बनाउने ध्याउन्नमा हुनुहुन्छ । जिल्ला अस्पतालमा पनि चिकित्सक नखटाउने हो भने राजिनामा दिनुको विकल्प देख्दिन’ । १ नं प्रदेशका जिल्ला अस्पतालमा चिकित्सिक अभाव भएको विषयमा मुख्यमन्त्री शेरधन राईले पनि धनकुटामा भएको एक कार्यक्रममा भनेका थिए, ‘यहि बर्ष भित्र सम्पुर्ण जिल्ला अस्पतालमा चिकित्सकको व्यवस्था गर्छौ’ ।

चिकित्सक नहुँदा पोष्टमार्टमका लागि पनि अन्यत्र लैजानुपर्ने बाध्यता सृजना भएको छ । अहिले पोष्टमार्टमका लागि ओखलढुङगाको मिसन हस्पिटल लैजानु पर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । जिल्लाको नेचासल्यान गाउँपालिकाको सल्यानमा निर्माण भएको पोष्टमार्टम गृह बर्षौदेखि सञ्चालनमा छैन भने प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा पोष्मार्टम गृह निर्माणभएपनि चिकित्सक अभावमा सञ्चालनमा आउन सकेको छैन । खुम्बुपासाङल्हामु गाउँपालिकामा पनि पोष्टमार्टम गृह नहुँदा हेलिकप्टर चार्टर गरेरै काठमाण्डौ लैजानुपर्ने बाध्यता कायमै छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु