शासकीय स्वरुपमा एमाले पछाडि फर्कने संकेत

हिमाल एफ.एम कार्तिक १४ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली हुनुपर्ने चुनावी घोषणापत्रको अडानबाट पछि हटेर कांग्रेसकै जस्तो संसदीय प्रणालीको पक्षमा उभिएको नेकपा एमाले फेरि पुरानै अडानमा फर्कने गृहकार्यमा लागेको छ ।

शुक्रबार दिउँसोदेखि केन्द्रीय कार्यालय बल्खुमा हुने केन्द्रीय कमिटीको बैठकको तयारीका लागि विहीबार बसेको पदाधिकारी बैठकले शासकीय स्वरुपमा घोषणापत्रको लाइनबाट पछि नहट्न शीर्ष नेतृत्वलाई सुझाव दिएको छ ।

नेपाली कांग्रेससँग वार्तामा खटिएका शीर्ष नेताहरुले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीलाई छाडेर कांग्रेसकै परम्परागत संसदीय प्रणालीमा सहमति जनाएपछि पदाधिकारी टिममा रहेका अन्य नेताहरुले असहमति जनाएका हुन् ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीलाई छाडेर एमाले नेताहरु संसदबाट निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा आएपछि एमाओवादीसँग दुरी बढेको छ । एमाओवादीले भने प्रत्यक्ष राष्ट्रपतीय प्रणालीबाट पछि हटेर एमालेले भनेजस्तै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा जान सकिने बताइसकेको छ ।

एमालेको केन्द्रीय कमिटी बैठकले आफ्नो घोषणापत्र अनुसार अडान लिएको खण्डमा शासकीय स्वरुपमा एमाले र एमाओवादीको विचार मिल्ने स्थिति छ । तर, यसो गर्दा संसदीय प्रणालीको विकल्प खोज्न नमानिरहेको नेपाली कांग्रेस टाढिने खतरा छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु