विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालको शानदार शुरुवात

काठमाडौं, चैत्र ३ । नेपालले बंगलादेशमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा शानदार सुरुवात गरेको छ । विश्वकप ट्वेन्टी ट्वेन्टीको पहिलो खेलमा चिरपरिचित हङ्गकङ्गकलाई ८० रनले हराउँदै नेपालले ठोस शुरुवात लिएको हो । १ सय ५० रनको चुनौती पछ्याएको हङ्गकङ्ग १७ ओभरमै अलआउट हुँदै ६९ रनमात्र बनाउन सक्यो ।

कसिलो बलिङ्ग गर्ने क्रममा म्यान अफ द म्याच शक्ति गौचनले ९ रन खर्चेर ३ विकेट लिए । त्यसैगरी बसन्त रेग्मीले १४ रन खर्चेर समान ३ विकेट लिए । सोमपाल कामीले दुई विकेट लिँदा पारस खड्का र जितेन्द्र मुखियाको भागमा एक एक विकेट पर्‍यो । यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । उपकप्तान ज्ञानेन्द्र मल्लले ४१ बलको सामना गर्दै सर्वाधिक ४८ रन बनाए ।

त्यसैगरी तेस्रो विकेटका लागि मल्लसँग ८० रनको साझेदारी गर्ने क्रममा कप्तान पारस खड्काले ४१ रनको योगदान दिएका थिए । सुवास खकुरेल २२, शरद भेषवाकर १४ तथा सागर पुन १३ रनमा आउट भए । नेपाली खेलकूद इतिहासमा सबैभन्दा महत्वपूर्ण सफलतालाई आत्मसात् गर्दै नेपालले पहिलो पटक ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलिरहँदा आम नेपाली उत्साहित बनेका छन् । नेपालले छनौट चरणमा हङ्गकङ्गलाई नै हराएर विश्वकपमा ठाउँ बनाएको थियो ।

चार टोली सहभागी समूहको शीर्ष टिमले विश्वकपको अर्को चरणमा ठाउँ बनाउने भएकाले पनि हरेक खेल महत्वपूर्ण छन् । नेपालले अब दोस्रो खेलमा अनुभवी बंगलादेशको सामना गर्नेछ । कप्तान पारस खड्काले आफूले एक पटकमा एउटै खेलका बारेमा सोच्ने हुनाले बंगलादेशबारे सोचिनसकेको भन्दै त्यसको रणनीति पनि सफलताका लागि बन्ने बताएका छन् । बंगलादेशले पनि विजयी सुरुवात गरेको छ । हिजै बंगलादेशले अफगानिस्तानलाई ९ विकेटले हराएको हो । ७३ रनको झिनो चुनौती बंगलादेशले १२ ओभरमै १ विकेट गुमाएर पूरा ग¥यो । यसअघि पहिले ब्याटिङ्ग गरेको अफगानिस्तानले १७ ओभर १ बलमा अलआउट हुँदै ७२ रन बनाएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!