विपी स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ६ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनहीनता बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार राजधानीमा विपी कोइरालाको ३५ औं स्मृति दिवस तथा प्रजातान्त्रिक विचार समाजको साधारसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पहिलो र दोस्रो तहको स्थानीय तह निर्वाचनमा पार्टीभित्रको अनुशासनहीनताका कारण धेरै स्थानमा कांग्रेसले पराजय बेहोर्नुपरेको बताए ।

उनले पार्टी अनुशासन उल्लंघन गर्नेहरुलाई कडा कारबाही गर्ने चेतावनीसमेत दिए ।

प्रधानमन्त्री देउवाले पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा पार्टीले बेहोरेको हारको क्षति आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनबाट पूर्ति गर्न एकताबद्ध भएर लाग्न आह्वान गरे ।

उनले कांग्रेस एकताबद्ध र अनुशासित भएर अघि नबढे लोकतन्त्रलाई नै घाटा पुग्ने बताए । निर्वाचनका क्रममा कतिपय स्थानमा उम्मेदवारी वितरणमा पनि अन्याय भएको हुनसक्ने भन्दै उनले त्यसलाई व्यवस्थापन गर्दै लैजाने आश्वासन दिए ।

पार्टीलाई एकताबद्ध र अनुशासित बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो ।

कांग्रेस नेता अर्जुननरसिंह केसी, सुजाता कोइरालालगायतले लोकतन्त्रको सुदृढीकरणका लागि आगामी निर्वाचनमा कांग्रेसकै जित हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले यस वर्षको लोकतान्त्रिक योद्धा सम्मान कांग्रेस नेता चक्र बास्तोलालाई प्रदान गरे । देउवाले ‘गिरिजाप्रसाद कोइराला विशेषांक’समेत विमोचन गरे ।

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवस शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरिरहेका छन् ।

नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्थ गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो । पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

विपीले प्रवर्द्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ ।

विपी कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’ र ‘बाबु, आमा र छोरा’ गरी ६ वटा उपन्यास प्रकाशित छन् । त्यसैगरी दुई वटा कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ प्रकाशित छन् । यस्तै सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित आत्मवृतान्त ‘जेल जर्नल’ पनि प्रकाशित छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु