विपदमा सहयोग : टाक्सिन्दुबासीको विद्युत महशुल दुई समाजसेवीले तिरिदिने

सोेलुखुम्बु, जेठ ३


सोलुखुम्बुका दुई समाजसेवीले टाक्सिन्दुबासीको जेठ र असार महिनाको विद्युत महशुल तिरिदिने भएका छन् । सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका वडाअध्यक्ष छोङवा लामा शेर्पा र लोखिमका समाजसेवी लाक्पा तेम्बा शेर्पाले टाक्सिन्दुका ५२० घरपरिवारको जेठ र असार महिनाको विद्युत महशुल तिरिदिने घोषणा गरेका हुन् ।


कोरोनाको कहरमा रहेका टाक्सिन्दुबासीको सहजताका लागि समाजसेवीद्धय शेर्पाले मासिक ३ सयका दरले हुन आउने दुई महिनाको विद्युत महशुल शुल्क एक लाख ५६ हजार रुपैयाँ व्यक्तिगत रुपमा व्यवस्थापन गर्ने घोषणा गरेका हुन् ।


वडाअध्यक्ष एवम् समाजसेवी शेर्पाले भने, ‘विपदको समयमा आफ्ना नागरिकलाई सकेको सहयोग गर्नु मानवीय धर्म सम्झेका छौ । त्यसकारण, जेठ र असार महिनाको विद्युत महशुल तिरिदिने घोषणा गरेका हौ ।’ टाक्सिन्दुका नागरिके स्थानीय हेवाखोला र घट्टेखोलाबाट उत्पादित विद्युत प्रयोग गर्दै आएका छन् ।

अर्का समाजसेवी लाक्पा तेम्बा शेर्पाले कोरोना कहरको समयमा दुई महिनाको विद्युत महशुल तिरिदिने जिम्मा लिएको बताए । उनले भने, ‘स–सानो सहयोगले पनि समस्या परेकाको मुहारमा खुसी ल्याउन सकिन्छ भन्ने हो ।’ सबै मिलेर विपदको सामाना गर्नुको विकल्प नभएको शेर्पाले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!