विपदमा रीड नेपाल : घरैमा पुगेर छात्रवृति वितरण

सोलुखुम्बु, जेठ ६


कोरोना जोखिम पछि लागु गरिएको लकडाउनको समयमा पनि रीड नेपालले विद्यार्थीको घरमै पुगेर छात्रवृत्ति वितरण गरेको छ । स्थानीय तहको समन्वयमा सावधानी अपनाएर सम्बन्धित विद्यार्थीको घरमै पुगेर १८१ जनालाई छात्रवृत्ति वितरण गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।


सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका ५७ जना, सोलुदुधकुण्ड नगरपालिकाका ३४ जना, सोताङ गाउँपालिकाका ४७ जना र महाकुलुङ गाउँपालिकाका ४३ जनालाई छात्रवृति वितरण गरिएको हो । घरमै छात्रवृत्ति पाएपछि विद्यार्थी र उनका अभिभावकहरुले खुसी ब्यक्त गरेका छन् ।
सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाकी अभिभावक लक्ष्मीमाया मगरले संकटमा पनि घरमा नै आएर छात्रवृत्ति दिएकोमा खुसी व्यक्त गरिन् । अर्की अभिभावक गोमा सार्कीले छात्रवृत्तिले आफुलाई निकै राहत महसुस भएको बताईन् ।


अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रीड नेपालले ७ वर्ष देखि सोलुखुम्बुका पाँच सय विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आइरहेको छ । छात्रवृत्ति पाउनेमा कक्षा १ देखि १० सम्मका विद्यार्थी धेरै छन् भने केहीले एसइइपछि पनि उच्च शिक्षा हासिल गरिरहेका छन । हाल जिल्लामा पाँच सय विद्यार्थीहरुलाई स्टेशनरी, पोषाक र वार्षिक छ हजार नगद छात्रवृत्ति उपलब्ध गराउदै आएको रीड नेपालले जनाएको छ ।


५ जना छात्राहरुलाई कक्षा ९–१२ सम्मको प्राविधिक कृषि बालि विज्ञान शिक्षाको लागि गार्मा माविमा अध्ययनको लागि वार्षिक जनही ५० हजार उपलब्ध गराउदै आएको छ भने एक छात्रालाई इन्जिनियर र अर्को एक छात्रालाई नर्स कोर्षका लागि सहयोग गरिरहेको छ ।


खर्च अभावमा बालबालिकाहरु शिक्षाबाट बन्चित हुन नपरोस् र उमेर पुगेका बालबालिका विद्यालय बाहिर नरहुन् र विद्यालयमा नियमित हुन सकुन् भन्ने उद्देश्यले छात्रवृत्तिका कार्यक्रमलाई निरन्तरता दिएको रीड नेपालका मुख्य कार्यकारी अधिकृत भिम बोगटीले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!