विद्यालय जागिर खाने ठाँउ होईनः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल

प्रेम श्रेष्ठ,
खोटाङ जेठ २८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताएका छन्।

कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरेको विचार राख्दै उनले सिकाई केन्द्रित भएर विद्यालयमा काम गर्न शिक्षकलाई निर्देशन दिए ।

खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पा्स्थित शारदा माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा सोमबार उनले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटित गराउने काम शिक्षकको भएको बताए।

विभिन्न कार्यक्रमका लागि आफ्नो गृहजिल्ला खोटाङ आएका शिक्षामन्त्री पोखरेलले शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु भनेको देशमाथि खेलवाड गर्नु भएकाले सबै शिक्षकले ध्यान दिनुपर्ने जिकिर गरे ।

शिक्षामन्त्री पोखरेलले परम्परागत शिक्षाले देशमा बेरोजगार मात्र उत्पादन गरेको दाबी गर्दै सरकारले पछिल्लो समय प्राविधिक शिक्षामा जोड दिएको बताए। आफ्नो क्षेत्रमा सञ्चालित विद्यालयमा रिक्त रहेका शिक्षक पदपूर्ति गर्दा शिक्षक सेवा आयोग उत्तीर्ण गरेका व्यक्तिलाई मात्र भर्ना गर्न उनले स्थानीय सरकारलाई निर्देशन दिए ।

देशमा राहत शिक्षकको पनि महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले राहत शिक्षकका लागि निश्चित मापदण्ड बनाएर स्थायी गर्ने प्रक्रियामा लाने तयारी गरिएको बताउनुभएको छ ।

३ दिन सम्म चल्ने बार्षिक उत्सवको उद्घाटन समारोहमा गाँउपालिका अध्यक्ष लिलानाथ निरौला, नेकपा प्रदेश नम्बर १ का केन्द्रिय सदस्य हरिकुमार पोखरेल, शिक्षक विद्यार्थि, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु