विज्ञप्तिका विरूद्ध विज्ञप्ति : नेकपा सिद्धिचरण कमिटीले गर्‍यो भर्त्सना

नवराज कार्की
ओखलढुंगा, वैशाख १८

नेपाली कांग्रेस सिद्धिचरण नगर कार्य समिति ओखलढुंगाले गत १३ गते जारी गरेको विज्ञप्तिका विरूद्ध नेकपा सिद्धिचरण नगर कमिटीले विज्ञप्ति जारी गरेको छ ।

विहीबार सार्वजनिक भएको विज्ञप्तिमा कमिटीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस सिद्धिचरण नगर कार्य समितिले  जारी गरेको विज्ञप्तिमा सिद्धिचरण नगरपालिकाले भनेजस्तो काम नगरेको, राहत वितरण कमजोरी भएको, आफू अनुकुल वितरण गरिएको, धेरै श्रमजीवी श्रमिकलाई छुटाइएको, स्वास्थ्य सामग्री व्यवस्थापन चित्तबुझ्दो नभएकोलगायतका आरोप लगाइएको थियो ।

सो विज्ञप्तिको विरुद्ध नेकपा सिद्धिचरण नगर कमिटीले विज्ञप्ति जारी गर्दै राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई राहतमा राजनीति नगर्न अपिल गरिएको छ ।

विज्ञप्तिमा सिद्धिचरण नगरपालिकाले  गरिरहेको काम कारबाहीलाई विश्लेषण गर्दै स्वास्थ्य, सुरक्षा र जीवन रक्षाको लागि नगरपालिका सचेत रहेको दाबी गरिएको छ ।

नगरपालिकाले वडा कार्य समितिको निर्णय बमोजिम छनोट भई आएका व्यक्तिहरुलाई मापदण्ड बनाएर असंगठित श्रमजीवी कामदार विपन्न वर्ग तथा असहाय वर्गलाई पहिलो चरणमा चामद दाल, नून र तेल राहत सामग्री वास्तवित व्यक्तिहरुलाई वितरण गरेको पाइएको उल्लेख गरिएको छ ।

नगर कमिटीका इञ्चार्ज गुणकुमार राई, अध्यक्ष मेखबहादुर  खड्का र सचिव कुलबहादुर नेपालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाली कांग्रेस सिद्धिचरण नगर कार्य समितिले  जारी गरेको विज्ञप्तिको भर्सना गरिएको छ ।

विज्ञप्तिमा कोरोना भाइरसको संक्रमणको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारबाट लागु गरिएको लकडाउनलाई पूर्णरुपमा पालना गर्ने सबै नगरवासीहरुलाई धन्यवाद समेत दिइएको छ ।

कांग्रेसद्वारा जारी गरिएको विज्ञप्तिको विषयमा सिद्धिचरण नगरपालिकाले भने केही बोलेको छैन ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!